arin enterprises

इन्द्रायणीमा सर्पाहुति यज्ञ हुँदै

SamacharDesk – समाचारडेस्क | २०८० मङ्सिर २४, आइतबार

बालाचःर्‍हे (बाला चतुर्दशी) जात्राको क्रममा आज आइतबार काठमाडौंको इन्द्रायणीमा सर्पाहुति यज्ञ हुन लागेको छ । आज मंसीर कृष्ण त्रयोदशीको रात, जात्राको क्रममा काठमाडौंको ढल्कोस्थित इन्द्रायणी मन्दिर अगाडी रहेको यज्ञकुण्डमा सर्पाहुति यज्ञ गर्न लागिएको हो ।

यज्ञको क्रममा सर्पसँगै एक जोडी भंगेरा, एक जोडी फट्यांग्रा, एक जोडी माछा र एक जोडी सर्प पनि होम गर्ने गरिन्छ भने । यस क्रममा एक जोडी होमिन्छ भने एक जोडी छोड्ने चलन रहेको छ । साथमा ३२ थरिका विभिन्न अन्न, गेडागुडी आदि होम गरिन्छ ।

हाल भने सर्प बस्ने स्थानहरु सबै मासिसकेको हुनाले सर्प पाउन असम्भव जस्तै नै भइसकेकोले सर्पको आहुती दिन बन्द भएको लगभग ८–९ वर्ष भइसकेको स्थानीयको भनाई छ । साथै अहिले नयाँ बनाइने घरहरुमा पहिला जस्तो चराको लागि प्वाल नछोडिने भएको हुनाले भंगेरा खोज्न पनि गार्‍हो हुन थालिसकेको सरोकारवालाहरु बताउँछन् ।

यज्ञको क्रममा अन्तिममा बलि दिइसकेर पुनः प्राण भरिएको राँगाको टाउको पनि यसै यज्ञमा होमिन्छ ।

दुर्लभ किसिमको मानिएको यस किसिमको यज्ञ हेर्न ठुलै संख्यामा भीड लाग्ने गर्दछ ।

यज्ञ सकिएपछि मन्दिर भित्र पूजारी खलक मात्र बसी ढोका लगाई गोप्य पूजा गर्छ । यसको भोलिपल्ट (बाला चर्तुदशीको दिन) दिनभरी इन्द्रायणी देवीको मूर्ति दर्शनको लागि मन्दिरमै राखेर राती देवीलाई खटमा राखेर भव्य जात्रा गरि थँहितिमा राख्न लगिन्छ ।

त्यस्तै, औंसिको दिन न्हि जात्रा भनी देवीको खटलाई दिनभर नगर परिक्रमा गराइन्छ ।

यस जात्रामा काठमाडौं ढल्कोस्थित इन्द्रायणी (लुँति अजिमा) सहित उनको सन्तान मानिने स्वाँछपु गणेश, भुँडी गणेश, ज्वालामाई, मांखचा (मचाखाचा), शोभा भगवती गरि ६ वटा खटको जात्रा गर्ने गरिन्छ । कुनै समय क्षत्रपाटीमा रहेको श्वेत भैरवसहित ७ वटा खट जात्रा हुने गरेकोमा श्वेत भैरवको जात्रा नभएको छ दशक भन्दा बढी भइसकेको छ ।

साँझमा छ वटै खटलाई लस्करै राखेर फर्काइन्छ भने विधिवत पूजाआजा गर्दै आ–आफ्नो द्यःछेँमा भित्र्याउने परम्परा रहेको छ ।

जात्राको सुरुवात भने गत शुक्रबारबाट काठमाडौंको ढल्कोस्थित इन्द्रायणी मन्दिरमा भएको हो । इन्द्रायणी देवीको जात्रामा भने गत मंसिर कृष्ण एकादशी शुक्रबारबाट सुरु भएको हो ।

शुक्रबार साँझ त्यौडस्थित इन्द्रायणी देवीको द्यःछेँ (देवता घर) बाट ढल्कोस्थित इन्द्रायणी मन्दिरमा पूजा ल्याइर्, पूजा गरी मन्दिरको मूल ढोका डोरीले बाँधी बन्द गरिएको थियो ।

त्यसको भोलिपल्ट मंसिर कृष्ण द्वादशीको साँझ पुनः द्यःछेँबाट पूजा ल्याएपछी राँगो बलिसहित पूजा गरेर ढोका खोल्ने परम्परा रहेको छ । बलि दिइएको राँगाको टाउकोलाई पूजा गरि द्यःछेँमा नै फिर्ता लगिन्छ ।

इन्द्रायणी देवीलाई द्यःछेँबाट खट जात्रा गरि लगिसकेपछि उक्त राँगाको टाउको पूजा गरि पुनः प्राण भर्ने गरिन्छ ।

यसरी प्रतिस्था गरेको टाउकोलाई फेरि सम्मानका साथ द्यःछेँको मूल ढोकामा ल्याएर पूजाआजा गरि भित्र्याई क्षेत्रपालको स्थानमा राखी बत्ति दिइन्छ भने यसपछि सबै आवश्यक सामग्रीका साथ उक्त टाउको पनि राखी सर्पाहुती यज्ञको लागि मन्दिर प्रस्थान गरिन्छ ।

यो जात्रालाई इन्द्रायणी देवी लुँति अजिमाले आफ्नो बालबच्चालाई मात्र भोजको निम्तो बोलाएको रुपमा लिइन्छ ।

किम्बदन्ती

यो जात्रासँग एक किम्बदन्ती प्रचलित छ । किम्वदन्ती अनुसार इन्द्रायणी देवी गरीब थिइन् र उनको बालबच्चा पनि धेरै भएकोले आफ्नै दिदिबहिनी र माइतीबाट अपहेलित थिइन् ।

एकदिन माइतीमा सबै दिदिबहिनी जमघट गर्ने भनी भोज बोलाइन्छ तर इन्द्रायणी देवीलाई भने गरीव भएकै कारणले भोलिपल्ट मात्र बोलाइयो ।

भोज सकिसकेको घरमा इन्द्रायणीलाई सुख्खा, कडा रोटी खान दिइयो । आफ्नै माइतीमा आफ्नै आमाबाटै अपमानित भएकी उनी रोएर फर्किन्छिन् ।

बाटोमा रुँदै जाँदै गर्दा आफ्नो बच्चाहरुले जता धेरै दुःख दिए त्यतै छोडेर हिँडिछन् ।

जाँदाजाँदै बाटोमा एक वृद्ध भेटेछन् र किन रोएकी भनेर सोधेपछि इन्द्रायणीले आफुलाई भएको अपमान सबै बेलिविस्तार लगाए ।

सबै कुरा सुनेर आफ्ना बच्चाहरुलाई ख्वाउनु भनी एउटा फर्सी दिए ।

त्यही फर्सी पकाउँदा उनी त्यतै निदाए र भोलिपल्ट बिहान हेर्दा उक्त फर्सी सुनमा परिणत भएको देखिन् । त्यसै सुनबाट उनी धनी भए ।

त्यसपछि आफ्ना दिदिबहिनीले देखावटी माया गरेकोले अबबाट तिमीहरु मलाई भेट्न नआउनु र म पनि आउँदिन भनेर फर्किएको र आफ्नै छुट्टै जात्रा चलाइएको भन्ने कथन समाजमा प्रचलित छ ।

सोहि कारण सबै दिदिबहिनीको भेटघाट भनी पिशाच चर्तुदशी (पाहांचःर्‍हे) को समयमा जात्रा गरिन्छ ।

तर इन्द्रायणी (लुँति अजिमा) को भने बाला चतुर्दशीको बेला छुट्टै जात्रा गरिन्छ ।

ढोका बन्द गर्न जाने भन्ने परम्परालाई आफ्नो दिदिबहिनी कोहि नआओस् भनी आफ्नो बालबच्चाहरु मात्र बोलाई गोप्य रुपमा भोज ख्वाएको भन्ने मान्यता रहेको छ ।

Categorized in संस्कृति