शिवालयहरुमा पितृको नाममा सतविज छरियो
SamacharDesk – राम डंगोल | २०८० मङ्सिर २५, सोमबार

आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनले आइतबार रातभर दीप प्रज्वलन गरी भोलिपल्ट आज सोमबार शत बीज छरिएको छ ।
बालाचतुर्दशीको अघिल्लो दिन अर्थात आइतबार साँझ पितृका नाममा बत्ती बालेर मृतकका आफन्त रातभर जाग्राम बसेका थिए ।
उक्त दिन (त्रयोदशी)को साँझ विधिपूर्वक महादीप बालेर रातभर जाग्राम बस्ने र चतुर्दशीका दिन (आज) बिहानै नदीमा बत्ती बगाउने गरिन्छ ।
चतुर्दशीका दिन बिहानै नुहाएर चोखो भइ पशुपतिनाथ क्षेत्रमा शतबीज (धान, जौ, गहुँ, चना, तिल जस्ता अन्न र केरा, सुन्तला, उखु, भोगटे, कागती, बिमिरो, अमला जस्ता फलका का साथै फूलहरु) छर्ने गरिन्छ ।
बोलीचालीको भाषामा सद्बीउ छर्ने भनिने शतबीजरोपणले पितृहरूको उद्धार हुन्छ भन्ने जनविश्वास रही आएको छ । अन्य शिवालयभन्दा पशुपतिनाथमा गरिने शतबीज रोपणको ठूलो महिमा बताइएको छ ।
यसैकारण पनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिसहरू आफ्नो पितृहरूको उद्धार गर्ने उद्देश्यले पशुपति परिसरमा आइपुग्छन् ।
किंवदन्ती
भगवान् शिव मृगरूप लिएर जहाँजहाँ घुम्नुभयो, त्यस पुण्य क्षेत्रमा बालाचतुर्दशीका दिन एक गेडा बीज छर्दा त्यत्तिकै परिमाणमा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ।
बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमका बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा उक्त बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती पनि छ।
जनविश्वास
मार्गकृष्ण त्रयोदशीको दिन बेलुकी त्यही वर्ष मातापिता वा आफन्त दिवंगत हुनेहरूका र धेरै वर्ष अगाडि नै दिवंगत भइसकेका पितृका सन्तानहरू पशुपतिका वरपर वा अन्य शिवालय परिसरमा गएर बत्ती बाल्ने गर्दछन्।
यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ। राति बालिएको बत्ती चतुर्दशीको बिहानै वाग्मती वा आफ्नो पायक पर्ने नदीमा सेलाएपछि पशुपतिमा बस्नेहरूले मृगस्थली हुँदै कैलाश, पशुपति, चौसठ्ठी लिङ्ग आदि विभिन्न चौध क्षेत्रमा शतबीज छर्छन्।
लगातार तीन वर्षसम्म बत्ती बालिसकेकाहरूले शतबीज छरिसकेर ब्राह्मण पुरोहितद्वारा साङ्गेको रूपमा चतुर्थीकृत्य सम्पादन गर्दछन्।
पहिलो र दोस्रो वर्ष बत्ती बाल्नेहरू भने ब्राह्मणलाई टीका लगाई कैलाशमा गई दहीच्युरा खान्छन्। कैलाशमा बसेर दहीच्युरा खानाले भगवान् शिव खुशी हुन्छन् भन्ने जनविश्वास रहेको छ।
Categorized in संस्कृति