arin enterprises

रुद्रायणी १२ बर्षे जात्रा यसपटक बुंगमती नलगिने

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० मङ्सिर २६, मंगलबार

ललितपुर खोकनाको रुद्रायणी देवीको १२ वर्षे नाच यस पटक बुंगमती नलगिने भएको छ । १२ बर्षे नाचको क्रममा बुंगमतिमा देवगण नाच्नुपर्ने डबलीमा मछिन्द्रनाथको अस्थाइ मन्दिर रहेको कारण यसपटक बुंगमतीमा रुद्रायणी १२ बर्षे नाच नहुने भएको हो ।

खोकनामा हाल श्री रुद्रायणी देवीको ऐतिहासिक १२ वर्ष मेला चलिरहेको छ । १२ वर्षे जात्राको क्रममा पौष कृष्ण दुतियाका दिन रुद्रायणी देवगणलाई बुंगमतीमा लग्ने चलन रहेको छ ।

सो अनुसार यसपटक आउँदो पुस १३ गतेका दिन देवगणलाई बुंगमती लगिनुपर्ने थियो । तर, ललितपुर महानगरपालिका (लमपा) वडा नं २२ ले आइतवार सुचना जारी गर्दै माघ १७ अघि रातो मच्छिन्द्रनाथ रहेको डबली देवगण नाच्नको लागि उपलब्ध गराउन सकिने अवस्था नरहेको बताएको हो ।

“रुद्रायणी देवगणहरुसँग पटक पटक बैठक बस्दा सोही डबली बाहेक वरपर अर्को स्थानमा यो नाच प्रदर्शन गर्न नसकिने बताएपछि यो नाच यसपटक नहुने भएको हो” लमपा वडा २२ का अध्यक्ष सागर तुलाधरले समाचारडेस्कलाई जानकारी दिए ।

“मछिन्द्रनाथलाई तःबहाल लगिने साइत भने यसअघि नै माघ १७ गते जुरीसकेको छ भने रुद्रायणीको नाच पुस १३ गते हुन लागेको छ । त्यही भएर माघ १७ अघि उक्त डबली खाली गर्न सम्भव नदेखिएपछि यसपटक नगर्ने टुंगो लागेको हो” अध्यक्ष तुलाधरले बताए ।

यता रुद्रायणी गुठिले गत शनिबार सामाजिक संजालको वालमा लेख्दै उक्त डबली खाली भए मात्र बुंगमती प्रस्थान गर्ने जानकारी दिएको थियो ।

“यस परिस्थितिमा उक्त स्थान (दबू) पुस १३ गते अगाडि खाली गरिएको खण्डमा मात्रै देवी नाच प्रदर्शनीका लागि प्रस्थान हुनेछ । पुस १३ गते पछि दबू खाली भएको खण्डमा देवी नाच प्रदर्शनीका लागि बुंगमतीबाट निमन्त्रणा आएता पनि प्रस्थानका लागि विधिवत अनुरुप असहज हुने जानकारी गराउँदछौं” रुद्रायणी गुठीको फेस्बुक ह्यान्डलमा लेखिएको छ ।

“रुद्रायणीको देवीको नाच नचाउनु पर्ने ठाँउमा हाल करुणामयको अस्थाइ मन्दिर छ । परापूर्वकालदेखि जहाँ नचाइरहेको हो हामीले त्यहिँ नचाउनु पर्छ अन्त नचाउनु हुन्न । यो नाचको लागि हामीलाई अरु विकल्पहरु दिएको थियो तर यो नाच त्यसरी अन्त नचाउन मिल्दैन” रुद्रायणी गुठप् खलः परिवारका ता द्यः नायः उदय कुमार डंगोलले बताए ।

विकल्पको रुपमा अस्थाई डबली दिएको अवस्थामा रुद्रायणी देवगणको लागि उपलब्ध गराइएको डबली बिगार्न नहुने नियम रहेको डंगोल बताउँछन् ।

वि.सं २०७२ सालको विनाशकारी भूकम्पबाट रातो मछिन्द्रनाथ मन्दिर पूर्णरुपमा क्षति भइ पुनर्निर्माको क्रममा छ भने रातो मच्छिन्द्रनाथलाई मन्दिरको पछाडी रहेको डबलीमा अस्थाई मन्दिर निर्माण गरी राखिएको छ ।

श्री रुद्रायणी देवीको १२ वर्षे जात्राको क्रममा बुंगमतिमा देवगण सोही डबलीमा नाच्ने परम्परा रहँदै आएको थियो ।

मन्दिर नबन्दै मछिन्द्रनाथलाई मन्दिरमा पनि राख्न नमिल्ने र अन्त पनि सार्न नमिल्ने भएपछि यसपटक भने रुद्रायणी देवीको नाच बुंगमतिमा निरन्तर नहुने भएको हो ।

Categorized in संस्कृति