arin enterprises

६ बर्षीय बालकले गोलीहान्दा आमालाई जेल सजाय

SamacharDesk | २०८० पौष २, सोमबार

संयुक्त राज्य अमेरिकाको एक विद्यालयकी शिक्षिकामाथि विद्यार्थीले गोली प्रहार गरेपछि विद्यार्थीकी आमालाई २ वर्षको जेल सजाय भएको छ ।

भर्जिनियाको न्युपोर्ट न्युजस्थित रिचनेक एलिमेन्टरी स्कूलकी शिक्षिका अविगेल ज्वेर्नरमाथि ६ वर्षीय बालकले कक्षाकोठाभित्रै गोली प्रहार गरेको घटनामा बालककी आमा २६ वर्षीया डेजा टेलरलाई त्यहाँको अदालतले २ वर्षको जेल सजाय सुनाएको हो ।

शुक्रबार सर्किट अदालतका न्यायाधीश क्रिस्टोफर पपिलका अनुसार टेलरले आफ्नो सन्तानको राम्रो हेरचाह नगरेको भन्दै जेल सजाय सुनाएका हुन् ।

‘आफ्नो सन्तानहरुलाई नकारात्मक कुराबाट टाढा राख्ने र सुरक्षीत गर्ने जिम्मेवारी अभिभावकको हो, जुन टेलरले पूरा गरिनन्,’ न्यायाधीश पपिलको आदेशलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यम एपीले उल्लेख गरेको छ ।

६ वर्षीय बालकसँगको सोधपुछमा उनले आफ्नी आमाले दराजको माथिल्लो भागमा राखेको बन्दुक झिक्न आफू ड्रयरमा चढेको बताएका छन् । बन्दुक लिई स्कुल जाँदा झोलामा राखेको र कक्षाकोठामा पुगेपछि पाइन्टको गोजीमा राखेको बताए ।

उनकी आमाले बन्दुकको ट्रिगर लक गरेर राखेको बताउदा अनुसन्धानका क्रममा झुट ठहरिएको थियो ।

यसअघि टेलरलाई गएको नोभेम्बरमा मात्रै २१ महिनाको सजाय सुनाइएको थियो । उनले बन्दुक बोकेको समयमा गाँजा सेवन गरेको पुष्टि भएपछि सो सजाय सुनाइएको थियो ।

अब यो सहित टेलर ४ वर्ष जेल बस्नुपर्ने हुन्छ । बालकलाई अहिले उनकी हजुरआमाको साथमा राखिएको छ ।

टेलरका वकिल जेम्स एलेनसनले टेलर गाँजाको खराब लत र घरेलु हिंसाको शिकार हुनुका साथै उनीमा सिजोफेक्टिभ डिसअर्डर, बाइपोलर डिसअर्डरजस्ता स्वास्थ्य समस्या रहेको बताएका छन् ।

६ बर्षीय बालकले कक्षाकोठामै गोल हान्दा शिक्षिका ज्वेर्नरको छातीमा लागि गम्भीर घाइते भएकी थिइन् । उनको पाँच पटक सर्जरी गरिएको थियो ।

यस्तै यो घटनापछि उनी अत्यन्तै विक्षिप्त र मानसिक रुपवाट समेत कमजोर भएकी एपीले जनाएको छ ।

उनले गोली प्रहारपछि विद्यालयविरुद्ध पनि मुद्दा दायर गरेकी छन् ।

Categorized in अन्तर्राष्ट्रिय