arin enterprises

एक्समा पनि लाईभ भिडियो फिचर थप हुँदै

SamacharDesk | २०८० पौष ३, मंगलबार

सामाजिक सञ्जाल एक्स (ट्विटर)को स्पेसमा लाइभ भिडियो फिचर थप हुने भएको छ । कम्पनीका मालिक एलन मस्कले एक्समा चाँडै नै भिडियो फिचर आउने जानकारी दिएका हुन् ।

यसअघि सो प्लेटफर्ममा अडियोमार्फत कुराकानी गर्न सकिने सुविधा थियो । अब भने एक्समा भिडियो फिचर समावेश हुनेछ ।

मस्कले ट्वीटरको स्वामित्व लगिसकेपछि स्पेसमा खासै परिवर्तन गरेका थिएनन् । अहिले भने सोही फिचरलाई चर्चामा ल्याउन उनले भिडियो फिचर सार्वजनिक गर्न लागेको बताइएको छ ।

एक्समा स्पेस भनेको लाइभ कुराकानी गर्न सकिने फिचर हो, जसमा सो प्लेटफर्मका कुनै पनि प्रयोगकर्ता जोडिन सक्छन् ।

मस्कले २०२३ को अन्तिमतिर यो फिचर सार्वजनिक गर्ने तयारी भइरहेको भने पनि २०२४ को सुरुवातमा मात्र उपलब्ध हुने अनुमान छ ।

स्पेस सेसनमा गुगल मिटको भिडियो फिचरले जस्तै नै काम गर्ने अपेक्षा गरिएको छ । यसमा पनि जो व्यक्ति बोलिरहेको छ, भिडियो फिड त्यही व्यक्तिको मात्र स्विच हुन्छ ।

मानिसहरूले बोलिरहेका बेला उनीहरूको शरीरको हाउभाउ देख्नका लागि यो फिचर उपयोगी हुने मस्कको दाबी छ ।

“यदि उनीहरूले चाहने हो भने आवाजभन्दा अनुहार र शरीरको हाउभाउले बढी सूचना दिन्छ,” मस्कले भनेका छन् ।

अडियन्ससँग अन्तर्क्रिया गर्न यो फिचरले थप मद्दत गर्ने कम्पनीको विश्वास छ ।

ट्वीटरले कोभिड–१९ महामारीको समयमा उदाएको अडियो स्ट्रिमिङ प्लेटफर्म क्लबहाउससँग प्रतिस्पर्धा गर्न स्पेस फिचर सार्वजनिक गरको थियो ।

Categorized in विज्ञान-प्रविधी