आईपीएल इतिहासकै महँगा खेलाडी मिचेल स्टार्क
SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष ३, मंगलबार

मिचेल स्टार्क इण्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगो खेलाडी बनेका छन् । अष्ट्रेलियन लेफ्ट आर्म फास्ट बलर स्टार्कलाई कोलकता नाइट राइडर्सले २४ करोड ७५ लाख भारतीय रुपैयाँ (भारु) मा खरिड गरेको हो ।
सन् २०२४ मा हुने आइपीएलका खेलाडीहरुको अक्सन मंगलबार युएईको दुबईमा जारी छ ।
जारी अक्सनमा प्रारम्भिक मुल्य २ करोड तोकिएका स्टार्कको लागि सुरुमा दिल्ली क्यापिटल्सले बोली लगाएको थियो । त्यसपछि मुम्बई इण्डियन्सले ८ करोडको बोली लगायो । कोलकता नाइट राइडर्सले ८ करोड ८० लाखको बोली लगाउँदै प्रतिस्पर्धामा आयो ।
प्रतिस्पर्धामा गुजरात टाइटन्सले स्टार्कको मुल्य १० करोड पुर्याएको थियो । त्यसपछि गुजरात टाइटान्स र कोलकाता नाइट राइडर्सबीच होड चल्यो र गुजरात उनका लागि २४ करोेडसम्म तिर्न तयार भएको थियो । अन्तमा कोलकताले २४ करोड ७५ लाखमा बाजी मार्यो ।
मिचेल ८ वर्षपछि आईपीएलमा फर्किएका हुन् । सन् २०१४–१५ को सिजनसम्म उनले रोयल च्यालेन्जर्स बैंगलोरबाट आईपीएल खेलेका थिए ।
स्टार्कलाई २०१८ को अक्सनमा कोलकाताले ९ करोड ४० लाख भारुमा किनेको थियो । तर चोटका कारण उनी खेल्नपाएका थिएनन्।
पछिल्लो केही वर्ष यता स्टार्कले अष्ट्रेलियाको टोली र परिवारलाई समय दिने भन्दै आईपीएल नखेल्ने निर्णय लिएका थिए ।
उनले आईपीएलका २७ खेलमा ३४ विकेट लिएका छन् भने ब्याटिङतर्फ उनले १२ इनिङ्समा ९६ रन मात्र बनाएका छन् ।
यस्तै यसअघि अष्ट्रेलियन क्रिकेटर प्याट कमिन्स भने दोस्रो महंगो खेलाडी बनेका छन् । उनलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाख भारुमा खरिद गरेको हो ।
कमिन्सलाई खरिद गर्न रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) ले पनि लगातार बोली लगाएको थियो । तर अन्तिममा हैदरावादले बाजी मार्यो ।
कमिन्सले यस वर्ष अष्ट्रेलियालाई विश्व टेस्ट च्याम्पियन र विश्वकप क्रिकेटको उपाधि दिलाएका थिए ।
Categorized in स्पाेर्ट्स