arin enterprises

मेलम्चीको पानी २८ दिनभित्र आउने

SamacharDesk – Ram Dangol | २०८० पौष ४, बुधबार

मेलम्ची खानेपानी अबको एक महिनाभित्र काठमाडौंवासीको धारामा आउने भएको छ ।

मेलम्ची क्षेत्रमा आएको बाढीका कारण बन्द भएको मेलम्ची खानेपानी आयोजना र ठेकेदारबीच सहमति भएको भन्दै अबको २८ दिनभित्र पानी पठान्तरण गरिसक्ने आयोजनाको दाबी छ ।

पानी आउन ढिलाई भएको भन्दै उपत्यकामा आन्दोलन र विरोध सुरुभएसंगै आयोजना तातेको हो । आयोजनाले एक विज्ञप्ति जारी गर्दै दुई सिफ्टमा काम गरेर भए पनि २८ दिनभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने जनाएको हो ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा समितिको मंगलबार बसेको बोर्ड बैठकले निर्माण व्यवसायीसँग तत्काल निर्माण व्यवसायीलाई साइटमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय गरेसंगै समझदारीपत्रमा हस्ताक्षर भएको समितिले जनाएको छ ।

बैठकले निर्माण व्यवसायी सिनोहाइड्रोमार्फत् नै तत्काल कार्य सुरू गर्ने निर्णय गरेको समितिले जनाएको छ ।

सहमति अनुसार निर्माण व्यवसायी सिनोहाइड्रो तत्कालै साइटमा परिचालन हुने र आकस्मिक परिस्थिति पर्न आए बाहेक बढीमा २८ दिनको द्रुत कार्यतालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पठाउनकालागि आवश्यक कार्यहरू सम्पन्न गरिने समितिको विज्ञप्तिमा उल्लेख छ ।

पथान्तरण पश्चात मेलम्चीको पानी दैनिक १७ करोड लिटरको दरले उपलब्ध गराइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

सो पानी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)बाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकाका घर-घरमा पुनः वितरण हुने छ ।

मनसुन सुरु हुनुअघि मेलम्चीको सुरुङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो । मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी काठमाडौं ल्याइएको छैन ।

खानेपानीको अभाव झेल्दै आएका काठमाडौंवासीले उपत्यका संघर्ष समिति गठन गरी रित्ता गाग्रा र बाल्टीसहित २ पुसमा प्रदर्शनमा उत्रिएका थिए ।

Categorized in राष्ट्रिय