चेक रिपब्लिकको इतिहासकै क्रुर र भयानक घटना
SamacharDesk | २०८० पौष ८, आइतबार

युरोपियन देश चेक रिपब्लिकको इतिहासकै क्रुर र भयानक घटना घटेको छ । गत बिहिबार चेक रिपब्लिकको राजधानी प्रागस्थित एक विश्वविद्यालयमा गोली चल्दा बन्दुकधारीसहित १५ जनाको मृत्यु भएको थियो ।
२४ वर्षीय युवकले आफ्नै बाबुलाई गोली हानेर मारेपछि प्राग चार्ल्स विश्विवद्यालय पुगेर त्यहाँ १४ जनाको गोली हानी हत्या गरेका थिए । १४ जनाको हत्या गरी उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ । आक्रमणमा २४ जना घाइते भएको थियो ।
चेक रिपब्लिकका राष्ट्रपति पेटर पावेलले यसलाई इतिहासकै क्रुर र भयानक घटना भनेका छन् ।
सन् १३४७ मा स्थापित चार्ल्स विश्वविद्यालयको मानविकी संकाय ऐतिहासिक सहर प्रागको केन्द्रमै रहेको छ । नजिकै वल्तावा नदीमाथि चौधौं शताब्दीमा बनेको चार्ल्स ब्रिज र ओल्ड टाउन स्क्वायरसमेत रहेको छ । ओल्ड टाउन स्क्वायर पर्यटकीय केन्द्रसमेत हो ।
गोली चलाउने व्यक्तिसँग विभिन्न हतियारको लाइसेन्स भएको र यस पछाडि कुनै आतंकवादी समूहको हात नभएको पनि त्यहाँको प्रहरीले जनाएको छ ।
चेक प्रहरीले बन्दुकधारी राजधानी प्रागाबट २१ किलोमिटर टाढाको गाउँको बासिन्दा रहेका बताएपनि नाम भने सार्वजनिक गरेको छैन ।
अन्तर्राष्ट्रिय संचार माध्यम रोयटर्सका अनुसार बिहीबार दिउँसो प्रागबाट १३ माइल पर हुस्तैनमा एक व्यक्ति गोली लागेको अवस्थामा मृत फेला परेका थिए ।
त्यहाँको प्रहरीले शंकास्पद व्यक्ति प्रागस्थित विश्वविद्यालयमा लेक्चर लिन दिउँसो २ बजे आउँदैछन् भन्ने सूचनाका आधारमा प्रहरीले विश्वविद्यालयको आर्ट्स भवन पूरै खाली गराएको थियो । तर, गोल भने अर्कै भवनमा चलेको प्रहरीले बताए ।
आक्रमणकारीले चार्ल्स विश्वविद्यालयको मानविकी संकायको भवनमा अन्धाधुन्ध गोली चलाएको थिए ।
युवकले गोली चलाउँदा विद्यार्थी र कर्मचारीहरु आफैं ढोका लगाएर कोठाभित्र सुरक्षित बस्ने प्रयास गरेका थिए ।
घटनास्थलबाट २०० विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको थियो ।
यो घटनापछि प्रहरीले गोली प्रहारका अन्य घटनामा पनि ती युवकको संलग्नताबारे अनुसन्धान गरिरहेको छ ।
गत हप्ता प्रागनजिकैको जंगलमा एक पुरूष र २ महिनाकी शिशु गोली लागेको अवस्थामा मृत फेला परेका घटनामा पनि उनकै संलग्नताको सम्भावना रहेको चेक प्रहरीको भनाई छ ।
Categorized in अन्तर्राष्ट्रिय