यःमरी पुन्ही मनाईंदै
SamacharDesk – राम डंगोल | २०८० पौष १०, मंगलबार

हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले मंगलबार धुमधामका साथ यःमरी पुन्ही मनाउँछन् ।
यस्तै पूर्वी नेपालमा बसोबास गर्ने किरात समुदायले पनि साकेला उधौली’ पर्व धुमधामका साथ आजकै दिन मनाउने गर्दछन् ।
दुवै समुदायको पर्व प्रकृतिसँग, कृषिसँग सम्बन्धित रहेको छ । दुवै समुदायको पर्व खेतबाट नयाँ बाली भित्र्याएर नयाँ फसलको रोटी खाएर रमाइलो गर्ने परम्परा रहेको छ ।
नेवार समुदायले यःमरी बनाएर खाइन्छ भने विशेष पर्वको रुपमा नै मनाइन्छ । यःमरी चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषामा यःमरी भनिन्छ। सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्ही भन्छन् ।
ज्यापु समुदायले यो दिनलाई ज्यापु दिवसको रूपमा समेत मनाउँदै आएका छन्। नेवार समुदायमा यःमरीको विशेष महत्व छ। विशेषगरी जन्मदिनलगायतका विशेष शुभकार्यमा यःमरी नभइ नहुने पकवानमध्ये एक हो। यःमरी मठमन्दिर, मानिसको जोडा जन्मदिन (जस्तो दुई वर्ष, चार वर्षको जन्मदिन) को अवसरमा नभइ नहुने पकवान हो ।
यःमरीलाई कुबेर, अन्नपूर्णदेवी र गणेशको प्रतीकका रूपमा लिइन्छ। पूर्णिमाका दिन यःमरीलाई धानलगायत अन्नका भकारीमा चढाएर खाँदा घरमा अन्नको अभाव नहुने जनविश्वास छ।
त्यसैले यस दिन नेवार समुदायले यःमरीको कुबेर, गणेश, लक्ष्मी, ज्यापु, ज्यापुनी, ख्याः, महादेव, पार्वतीलगायतको आकृति बनाएर आफ्ना अन्नका भकारी र धुकुकोठा (ढुकुटी), भण्डार कोठामा चढाएर मात्र आफूले खाने चलन छ।
यःमरी पुन्हीको दिन नेवार समुदायले आफ्ना गाउँ, टोलछिमेकमा यःमरी भाका गाउँदै यःमरी माग्ने चलन छ। तिहारमा देउँसीभैलो खेलेजस्तै यस दिन नेवार समुदाय टोलछिमेकमा यमरी भाका गाउँदै यःमरीसँगै सामाजिक कार्यका लागि आर्थिक सङ्कलन गर्ने प्रचलन रहेको छ।
मौलिक लोकसंस्कृतिलाई आधुनिकताले छोपेसँगै यःमरी माग्ने चलन विस्तारै लोप हुन थालेको छ । यस संस्कृतिलाई संरक्षण गर्न मातृभाषाको शिक्षा र संस्कृति नयाँ पुस्तालाई दिनुपर्ने खाँचो रहेको छ ।
यो प्रचलनले नेवार समुदायमा विभिन्न खाले गीत, सङ्गीत, साहित्यिक लेखनसमेत विकास भएको पाइन्छ। यःमरी खाने प्रचलनलाई अन्य समुदायमा समेत विस्तार गर्नसके यसले धार्मिक र सांस्कृतिक पर्यटनको समेत विकासमा टेवा पुग्ने देखिन्छ।
यःमरी पूर्णिमाका बारेमा ऐतिहासिक कथनअनुसार तत्कालीन पाञ्चाल देशमा भगवान् विष्णुका परमभक्त, दानी र धर्मात्मा सुचन्द्र दम्पती बस्दथे।
उनीहरुको दयालु स्वभावको जाँच गर्न एक दिन धनपति कुबेर गरिब ब्राम्ह्णको भेषमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगे। सुचन्द्रका श्रीमतीले ब्राम्ह्णरूपी कुबेरलाई श्रद्धापूर्वक आफूले तयार पारेको यःमरी खुवाइन्।
उनको सत्कारदेखि प्रसन्न भई कुबेरले आफ्नो असली रूप देखाई यःमरीको गुण र धानको भकारीमा श्रीगणेश, कुबेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर गए।
सोही अनुरूप सुचन्द्र दम्पतीले यःमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादको रूपमा बाँडेर खाएकाले उनीहरुको धन सम्पत्ति अझ वृद्धि भएको खबर जताततै फैलिएपछि त्यही समयदेखि नेवार समुदायमा यःमरी पूर्णिमाको संस्कृति विकास भएको जनश्रुति रहेको पाइन्छ।
Categorized in संस्कृति