arin enterprises

विदेशमन्त्री जयशंकरसँग विविध पक्षमा छलफल

SamacharDesk | २०८० पौष १९, बिहिबार

नेपाल र भारतबीचको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सम्पन्न भएको छ ।

बैठकमा आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति र राजनीतिकलगायतका विषयगत क्षेत्रहरु अन्तर्गत नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको परराष्ट्रमन्त्री साउदले जनाएका छन् ।

यसअघि संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर आज विहान काठमाडौं आईपुग्नु भएको थियो । विदेशमन्त्री जयशंकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गर्नुभएको थियो ।

नेपाल आइपुगेलगत्तै विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवासमा भेट भयो । भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिनुभएको थियो ।

सो अवसरमा भारतीय विदेशमन्त्री जयशङ्करले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको उल्लेख गर्दै सबै क्षेत्रमा भारतको निरन्तर सहयोग रहने बताउनुभयो ।

विदेशमन्त्री जयशंकर आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सरकारी निवास बालुवाटारमा भेट गर्नुभएको थियो । भ्रमणको अवसरमा नेपाल र भारतबिच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो ।

बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल र भारतका ऊर्जासचिव पङ्कज अग्रवालले हस्ताक्षर गर्नुभयो ।

Categorized in राष्ट्रिय