आर्थिक अपराध हेर्ने प्रहरी ब्युरो स्थापना हुँदै
SamacharDesk | २०८० पौष २२, आइतबार

नेपालमा आर्थिक अपराध हेर्ने छुट्टै प्रहरी ब्युरो स्थापना हुने भएको छ । मुलुकमा बैंकिङ कसुर र वित्तीय अपराधका घटनामा उल्लेख्य वृद्धि भएको कारण त्यस्ता घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीमा छुट्टै ब्यूरो स्थापना गर्न लागिएको हो ।
पोखरामा आइतबार आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा आर्थिक अपराधसँग सम्बन्धित कसुरको अनुसन्धान गर्न विशिष्टिकृत ब्यूरो स्थापनाका लागि गृहकार्य अगाडि बढाइएको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
आर्थिक अपराधका घटनाले व्यक्ति वा संस्थालाई मात्र नभइ सिंगो राष्ट्रको अर्थतन्त्रलाई समेत असर पुर्याउने भएकाले यस्ता घटना नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालय संवेदनशील भएर लागिपरेको प्रहरी महानिरीक्षक कुँवरको भनाई छ ।
यस्तै लागूऔषध नियन्त्रणका लागि कार्ययोजना बनाएर जिल्ला तहमा लागू गर्न लागिएको महानिरीक्षक कुँवरले बताए ।
‘प्रहरीकै अगुवाइ र व्यवस्थापनमा सुधार केन्द्र स्थापनाका लागि पहल भइरहेको छ, यसमा तीनै तहका सरकारको सहयोग रहनेमा हामी विश्वस्त छौँ,’ उनले भने ।
विभिन्न उद्देश्यले नेपालबाट अन्तरदेशीय आवातजावत बढेकाले ती क्षेत्रसँग सम्बन्धित अपराधको जोखिम बढेको कुँवरको धारणा छ ।
Categorized in राष्ट्रिय