arin enterprises

फागुन ६ गतेको दिनलाई राष्ट्रिय नृत्य दिवस घोषणा गर्न माग

SamacharDesk – बिराज | २०८० पौष २७, शुक्रबार

नेपालका नृत्य निर्देशकहरुले फागुन ६ गतेको दिनलाई राष्ट्रिय नृत्य दिवसको रुपमा घोषणा गर्नुपर्ने माग नेपाल सरकारसँग गरेको छ ।

नृत्य निर्देशकहरुको छाता संगठन नृत्य निर्देशक संघ नेपालले नेपाल सरकारसामु यस्तो माग राखेको हो ।

संघको प्रतिनिधि मण्डलले बिहिवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई भेटी फागुन ६ गतेको दिनलाई राष्ट्रिय नृत्य दिवस घोषणा गर्नुपर्ने माग राखेको हो ।

संघका अध्यक्ष भुवन दास श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नृत्य गुरुबा भैरव बहादुर थापाको नृत्य क्षेत्रमा योगदानको कदर गर्दै उनकै जन्मदिन फागुन ६ गतेलाई नेपाली क्यालेन्डरमा राष्ट्रिय नृत्य दिवसको रुपमा अंकित हुने गरी घोषणा गरिदिन माग गरेको  हो ।

‘९१ वर्षीय भैरव बहादुर थापाले नृत्य क्षेत्रमा अविस्मरणीय र अतुलनीय योगदान दिनुभएको छ । उहाँकै योगदानको कदर गर्दै उहाँकै जन्मदिन फागुन ६ गतेको दिनलाई राष्ट्रिय नृत्य दिवसको रुपमा घोषणा गरिदियोस्’ अध्यक्ष श्रेष्ठले भने ।

‘२०८१ फागुन ६ गतेका दिन देखि नै नेपाली क्यालेन्डरमा अंकित हुने गरी राष्ट्रिय नृत्य दिवस घोषणा होस् ।’

संघले नृत्य गुरुहरुका पनि गुरुको रुपमा नृत्य गुरुबा उपाधीबाट सम्मानित वरिष्ठ नृत्य निर्देशक भैरव बहादुर थापाको जन्म वि.सं. १९८९ फागुन ६ गते भएको हो ।

नेपालको मौलिक परम्परागत, सांस्कृतिक नृत्यको संरक्षणको लागि पनि अहिलेको अवस्थामा राष्ट्रिय नृत्य दिवस राज्यस्तरबाटै घोषणा हुनुपर्ने श्रेष्ठको भनाई छ ।

‘आज नेपाली युवा पुस्तामा पाश्चात्य नृत्य अलि बढि नै हावी देखिन थालेको अवस्थामा युवा पुस्ताले कतै हाम्रो पुर्खा र हाम्रो कला, संस्कृति, संस्कार र शास्त्र नै विर्सने पो हो कि ! यसको संरक्षणको लागि पनि राज्यस्तरबाटै राष्ट्रिय नृत्य दिवस मनाइनु आवश्यक छ’ श्रेष्ठले भने ।

अहिले नेपालकै नृत्य दिवस नभएको अवस्थामा अन्तर्राष्ट्रिय नृत्य दिवस मनाउन आफुहरु बाध्य भएको भन्दै अध्यक्ष श्रेष्ठले आफ्नै देशको लोप हुन लागेको परम्परागत शास्त्रीय तथा लोक संस्कृति नृत्यहरुलाई समेटेर राष्ट्रिय नृत्य दिवस मनाउन नपाउने भन्ने प्रश्न राखे ।

संस्कृति मन्त्रीले संघको माग निकै सान्दर्भिक भएको बताएका थिए ।

‘संघले निकै सर्‍हानिय र सान्दर्भिक माग उठाएको छ । यो विषयलाई मैले गम्भीर रुपमा लिएको छु र यसको कार्यान्वयनको लागि मैले सक्दो प्रयास गर्नेछु’ मन्त्री किराँतीले भने ।

संघको मागलाई मन्त्रिपरिषद्मा लगेर छलफल गर्ने र मन्त्रिपरिषदबाटै निर्णय गराउन आफुले प्रयास गर्ने प्रतिवद्धता किराँतीले व्यक्त गरे । 

२०७३ सालमा स्थापित संघले स्थापनाकाल देखि नै राष्ट्रिय नृत्य दिवस घोषणा गर्न माग गर्दै आएको छ । संघले विगतमा पनि विभिन्न समयमासम्वन्धित मन्त्री र सरोकारवालाहरुलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराइसकेको छ ।

Categorized in पेजथ्री
SKIP THIS tihar2082