arin enterprises

न्युरोडमा पार्किङ निषेध विरुद्ध व्यवसायीहरुको विरोध

SamacharDesk | २०८० माघ ९, मंगलबार

काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेसँगै व्यवसायीहरु विरोधमा उत्रेको छ ।

उनीहरु पार्किङ नदिएको बिरोधमा सटरै बन्द गरेर बिरोध जनाएका छन् । मंगलवार बिहानदेखि काठमाडौं महानगरपालिकाले न्युरोडको कालोपत्रे सडकमा पार्किङ गर्न निषेध गरेको छ ।

महानगरपालिकाले न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेपछि महानगर २२, २३ र २४ वडाका व्यवसायीले सटर बन्द गरेर विरोध प्रदर्शन गरेका छन् ।

व्यापारीहरुले सरोकारवालाहरुसँग समन्वय बिना पार्किङ निषेध गर्दा न्युरोड क्षेत्रमा कुनैपनि ग्राहक नआउने व्यवसायीहरुको भनाई छ । महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेकोे छ ।

उनीहरुले कोरोना महामारी लगायतका विभिन्न कारणबाट शिथिल बनेर युवा व्यवसायीहरु विदेश पलायन भएको अवस्थालाई थप प्रोत्साहन हुनेगरी पार्किङ निषेध गरिएको व्यवापारीहरुको गुनासो छ ।

महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ । तर व्यवसायीहरु त्यो पार्किङ उपयुक्त नभएको बताउछन् ।

व्यवसायीहरुले न्युरोड १० हजार भन्दा बढी रोजगार जोडिएको क्षेत्र रहेको भन्दै युवाहरु मेयरको बिरुद्धमा उत्रिने चेतावनी दिनुभयो ।

उनीहरुले बुधवारदेखि सबै व्यवसायीहरुले पूर्ण रुपमा सटर बन्द गरेर नगरपालिकालाई चाबी बुझाउने बताउनु भयो । न्युरोड जाने सवारी धनीलाई काठमाडौं टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको महानगरले जनाएको छ ।

काठमाडौं टावरमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पांग्रेसवारी साधन पार्किङ गर्न सकिने महानगरले जनाएको छ ।

Categorized in राष्ट्रिय