arin enterprises

त्रिविमा अब ट्रान्सक्रिप्ट लगायतका सेवा अनलाइनबाटै

SamacharDesk | २०८० माघ १५, सोमबार

त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट लगायतका सेवा अनलाइनमार्फत प्रदान गर्ने भएको छ । आजदेखि त्रिवि, परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले सेवाग्राहीलाई बल्खुस्थित कार्यालयमा आउनु नपर्ने गरी ट्रान्सक्रिप्ट तथा अन्य सेवा अनलाइनमार्फत दिने व्यवस्था गरेको हो ।

विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सन लगायतका कामहरु अनलाइनवाटै गर्न सक्ने पनिकाले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार यो सेवा आज (सोमबार)का दिन बिहान १०ः०० बजेदेखि सञ्चालन हुनेछ र केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुनेछ र पूर्ण अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशित हुनेछ ।

विद्यार्थीले सबैभन्दा पहिले परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइट https://tuexam.edu.np/मा गई होमपेजमा भएको सर्टिफिकेटको लिंकमा क्लिक गर्नुपर्ने हुन्छ ।

यति गरि साइनअप गरि ईमेलमा आएको लिङ्कमा क्लिक गरेर दर्ता गर्नुपर्छ । त्यसपछि रजिस्ट्रेसन स्लिप अपलोड गर्ने इन्टरफेसमा विद्यार्थीले pdf वा jpg फाइल फरम्याटमा अपलोड गर्न सकिन्छ ।

त्यसपछि ट्रान्सक्रिप्ट ‘Transcript’ मा गएर आवश्यक सूचना भरी अन्य सेवा आवश्यक भए अनुसार माग गरिएको सेवामा क्लिक गरी माग भएको सूचना उपलब्ध गराई अनलाइनमा उल्लेख गरिएको सूचना अनुसार फारम भरी पेमेन्ट गर्नुपर्छ । यसका लागि पनिकाले ई–पेमेन्टको सुविधा समेत गरेको बताइएको छ ।

बैंकमा तोकिएको रकम पेमेन्ट गरि सब्मिट गरेपछि सम्बन्धित शाखाबाट उक्त सूचनाको आधारमा सेवा प्रवाहको प्रक्रिया सुरु हुनेछ र सबै प्रक्रिया मिलेको खण्डमा ट्रान्सक्रिप्ट प्रिन्टको प्रक्रियामा जाने पनिकाले जनाएको छ ।

यो प्रक्रियासँग सम्बन्धित केही समस्या भएमा ईमेल वा फोन नम्बर मार्फत सूचना आदान प्रदान गरिने भएको कारण विद्यार्थीले आफ्नो सम्पर्क नम्बर र ईमेल सोही अनुसार अपलोड गर्नुपर्नेछ ।

प्रमाणीकरण गरी तयार भएको ट्रान्सक्रिप्टको सूचना सेवाग्राहीलाई पठाइने छ ।

यदि सूचना अपूर्ण भएमा वा गलत भएको खण्डमा पनि सोको जानकारी पनि सम्बन्धित विद्यार्थीलाई नै पठाइने पनिका बल्खुले उल्लेख गरेको छ । सूचना अपूर्ण  वा गलत भएको खण्डमा आवश्यक प्रक्रिया पूरा गरी पुनः अपलोड गर्न सकिनेछ । त्यसपछि पूर्ववत् सेवा सुचारु भई कार्यान्वयनमा जानेछ ।

यस्तै नाम, थर आदि सच्याउने प्रक्रियाका लागि भने आवश्यक प्रमाण आफूलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय बल्खुस्थित केन्द्रीय कार्यालयमा बुझाउनु पर्ने हुन्छ ।

प्रमाणपत्र संकलन गर्दा स्वयं वा इच्छाएको व्यक्ति मार्फत प्रमाणसहित आउनुपर्ने कार्यालयले जनाएको छ ।

Categorized in राष्ट्रिय