arin enterprises

खुल्ला मञ्चलाई खुल्लै राख्न पूर्व सांसद डा. शाक्यको माग

SamacharDesk – बिराज | २०८० माघ १७, बुधबार

खुल्ला मञ्चमा फुटबल ग्राउन्ड बनाउने काठमाडौं महानगरपालिका (कामपा) को निर्णयको विरोधमा चौतर्फी रुपमा आवाज उठ्न थालेको छ ।

पछिल्लो समय समाजमा विभिन्न क्षेत्रमा प्रतिष्ठित व्यक्ति, बुद्धिजिवी, उच्च पदस्थ व्यक्ति आदिबाट पनि खुल्ला मञ्चलाई खुल्लै रहन दिनुपर्ने भन्दै कामपाको निर्णयको विरोध भएको छ ।

यसै क्रममा पूर्व बागमति प्रदेश सांसद डा. अजयक्रान्ती शाक्यले पनि खुल्ला मञ्च जस्तो ऐतिहासिक सार्वजनिक स्थललाई सार्वजनिक खुल्ला नै रहन दिनु उचित हुने बताएका छन् ।

सामाजिक संजालमा लेख्दै पूर्व सांसद डा. शाक्यले खुल्ला मञ्च जस्ता सार्वजनिक स्थललाई कुनै पनि बहाना वा कुनै पनि षडयन्त्र गरी अन्य प्रयोजनको लागि कुनै पनि संरचना निर्माण गर्ने कार्य बन्द गर्नु न्यायोचित, बुद्धिमानी र जनभावना अनुरुप हुने विचार राखे ।

‘विगतमा पनि जनतालाई झुक्याएर वा बलजफ्ती धेरै सार्वजनिक स्थलहरु अर्थात् ’ख्यहरु’ हडपेको वा त्यसको दुरुपयोग गरेको उदाहरणहरु छन् । त्यसैले यस खुल्लामञ्चको पनि यस्तै दुर्गति नहोस् यसका लागि हामी सबै सचेत हुन आवश्यक छ’ डा. शाक्य लेख्छन् ।

साथमा कुनै पनि तहको सरकारले वा व्यक्तिले वा संस्थाले यस्ता कुकृत्यहरु गर्न खोजे सबै मिलेर विरोधको आवाज बुलन्द गर्नुपर्ने समेत डा. शाक्यले भनेका छन् ।

Categorized in समाज