arin enterprises

थप ६ जना नयाँ संक्रमितको पहिचान, एक मृतकमा पनि संक्रमण पुष्टि

SamacharDesk – विकाश | २०७७ जेठ १२, सोमबार

नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित संख्या ६ सय ८२ जना पुगेको छ । आज थप ६ जना नयाँ संक्रमितको पहिचान हुनुका साथै एकजना मृतकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

आज संक्रमण पुष्टि हुनेहरुमा अछाम मेल्लेक गाउँपालिकाका ३२ वर्षीय पुरुष रहेका छन् । अछाम अस्पतालमा रहेका उनको सेती अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा संक्रमण देखिएको हो ।

त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको छ । वर्दिया गुलरीया १० का २२ र २४ वर्षीय पुरुष दुई जना र वर्दिया गुलरिया २ का १८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २ जनामा संक्रमण भेटिएको छ । पर्सा जीरा भवानी गाउँपालिका ४ का १८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनी कालिकामाई क्वारेन्टाइनमा बसिरहेका थिए ।

साथै कामपा १५ स्थायी ठेगाना भएका हाल कलैया बारामा कार्यरत २८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । 

यसको साथै गत ज्येष्ठ ४ गते नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु हुने ७० वर्षीय वृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ६ सय ८२ पुगेको छ । तीमध्ये ६ सय २ जना पुरुष रहेका छन् भने ८० जना महिला छन् ।

मृत्यु हुनेको संख्या ४ पुगेको छ । 

१ सय १२ जना भने निको भएका छन् । आइतबार बेलुकि मात्रै नारायणी अस्पतालबाट १८ जना निको भएर घर फर्किको थिए भने आज पाटन अस्पताल र टेकु अस्पतालबाट थप ७ जना निको भइ डिस्चार्ज भएका छन् ।

हालसम्म पिसिआर विधिबाट कुल ५१ हजार ६ सय ४२ वटा र आरडिटि विधिबाट ९५ हजार एक सय ९२ वटा परिक्षणहरु भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट २ हजार ९ सय ४ वटा र आरडिटि विधिबाट ५ हजार एक सय ६६ वटा परिक्षण भएको छ ।

Categorized in राष्ट्रिय