arin enterprises

कोरोना संक्रमणबाट नेपालमा चौथो मृत्युको पुष्टि

SamacharDesk – विकाश | २०७७ जेठ १२, सोमबार

नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले गत ज्येष्ठ ४ गते पर्सा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मृत्यु हुने ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड १९) का कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

बाराको करैयामाई गाउँपालिका–७ स्थित उम्जनका ७० वर्षीय वृद्धको गत ज्येष्ठ ४ गते नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।  

ज्येष्ठ २ गते ७० वर्षीय ती वृद्धको मिर्गौलामा समस्या देखिएपछि वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए । सोहि दिनदेखि नै उनलाई आइसीयूमा राखेर उपचार गरिँदै थियो ।

उनमा क्षयरोगको साथै श्वासप्रश्वास सम्बन्धी समस्या समेत रहेको डा. देवकोटाले आजको प्रेस व्रिफिङमा बताए ।

ज्वरो समेत देखिएको हुँदा ज्येष्ठ २ गते नै उनको स्वाब नमूना संकलन गरी नारायणी अस्पताल पठाइएको थियो । नारायणी अस्पतालमा गरिएको परिक्षण गरिँदा नतिजा शंकास्पद आएपछि थप परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।

संक्रमित व्यक्तिको मृत्यु भएको ८ दिन पछि आज आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परिक्षणको नतिजा पनि पोजेटिभ नै देखिएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । 

उक्त वृद्धको मृत्युपछि अस्पतालले शव परिवारलाई जिम्मा लगाइदिएको थियो । मृतकका परिवारले गत ४ गते नै उनको हिन्दु धर्म संस्कार अनुसार अन्त्येष्टि गरिसकेका छन् ।

कोरोनाबाट मृत्यु भएका व्यक्तिबाट अरूमा संक्रमण नफैलियोस् भनेर संक्रमितको अन्तिम संस्कारका लागि सरकारले छुट्टै कार्यविधि नै बनाएको छ ।

संक्रमितको मृत्यु भएर अन्तिम संस्कार गरिँदा सुरक्षाका केही मापदण्डहरू अपनाउनु पर्नेहुन्छ ।

तर अस्पतालले केही नभनी शव परिवारलाई बुझाइदिँदा नियमित तरीकाले नै उनको दाह संस्कार गरेका थिए ।

अन्त्येष्टिमा करीव ५० जना जति मलामी गएको बताइएको छ ।

गत ज्येष्ठ ५ गते नै ती वृद्धको सम्पर्कमा रहेकाको स्वाब संकलन गरी टेकु पठाइसकेको पनि मन्त्रालयका प्रवक्ता देवकोटाको भनाई हो ।

यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

Categorized in राष्ट्रिय