महानगरपालिका फेरि कुहिने र नकुहिने फोहोर छुट्याउने योजनामा
SamacharDesk | २०८० माघ १९, शुक्रबार

काठमाडौं महानगरपालिकाले फेरि कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरेर व्यवस्थापन गर्ने योजना ल्याएको छ ।
हाललाई कामपाले वडा नम्बर ५, १२ र २७ बाट वर्गीकरणको काम थालनी गरेर केही समयपछि ३२ वटै वटाबाट वर्गीकरण भएको फोहोर मात्र व्यवस्थापन गर्ने तयारी गरेको छ ।
काठमाडौं महानगरपालिकामा नयाँ नेतृत्वमा बालेन शाहको मेयर भएर आएपछि १ साउन २०७९ देखि सुरु गरेको स्रोतमै फोहोर वर्गीकरण गर्ने महानगरपालिकाको योजना अलपत्र पर्दै आएको थियो ।
गत साउनदेखि स्रोतमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर मात्रै संकलन गर्ने घोषणा गरिएको योजना असफल भए पनि महानगर फेरि वर्गीकरणमा कस्सिएको हो ।
कामपाको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार विगत डेढ वर्षअघि पनि फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएपछि पुनः उक्त प्रक्रिया सुरु गर्न लागिएको हो ।
वर्गीकरण गरिएको फोहोर व्यवस्थापन गर्ने बन्चरेडाँडामा पनि स्थान पहिचानको काम भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिए । फोहोर वर्गीकरणसँगै कामपाले वर्गीकरण गर्दा निस्किएका पुनः प्रयोग गर्न सकिने फोहोरजन्य सामग्री बिक्रीको प्रबन्ध गरिने पनि महानगरले जनाएको छ ।
श्रेष्ठका अनुसार स्रोतमा नै फोहोरको वर्गीकरण गर्नुको फाइदा र आवश्यकताका बारेमा पहिलो चरणमा नगरवासीलाई जानकारी गराइने बताइएको छ ।
महानगर वातावरण विभागका अनुसार भान्छामा कुहिने र नकुहिने गरी दुई खालको फोहोर जम्मा हुन्छ । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो ।
नकुहिने फोहोर उत्पादक आफैंले बेच्न सक्छन् । कुहिने फोहोर आफैंले पनि मल बनाउन सकिन्छ । मल बनाउन सकिएन भने महानगरपालिकाबाट फोहोर संकलन गर्न आएको सवारीसाधनमा राखेर पठाउन सकिन्छ ।
तरकारी (सागसब्जी), बढी भएका खानेकुरा, माछामासु, हड्डी, अन्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएका वस्तु, रुखका पात कुहिने फोहोर हुन् ।
यस्तै प्लास्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्ट ब्याग, बोतल, फलाम आदि नकुहिने फोहोर हुन् ।
यससँगै स्यानिटरी प्याड, डाइपर, विषादीको खाली बोतल, म्यान नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोसाक ९पीपीई०, पञ्जा, फुटेका सिसा, घरआँगन बढार्दा आएको धुलो तथा माटो पनि फोहोरका रूपमा संकलन हुन्छ ।
हिजोआज सहरी क्षेत्रमा स्यानिटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहोरको मात्रा बढ्दै गएको छ । यस्तो फोहोर कुहिने र नकुहिने फोहोर राख्ने भाँडामा नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्छ । महानगरले विगत भन्दा फरक किसिमले फोहोर संकलनको योजना ल्याएको छ ।
महानगरको वातावरण विभागले यसपालिको योजनामा हरेक घर दैलोमा पुगेर फोहोर संकलन गर्ने रुट निर्धारण गर्ने, साधन तथा उपकरण प्रबन्ध गर्ने, जनशक्ति परिचालन गर्ने, संकलन तथा व्यवस्थापन विधि सिकाउने, समुदायको सहभागिता बढाउने र कामको अनुगमन मूल्यांकन योजना बनाइरहेको छ ।
Categorized in स्थानीय