नेवार समुदायले सम्झे भृगुराम र योगेशलाई
SamacharDesk – बिराज | २०८० माघ २१, आइतबार

जनगायक भृगुराम श्रेष्ठ र सदावहार गायक योगेश वैद्यलाई सम्झिँदै नेवार समुदायले श्रद्धान्जली दिएका छन् । शनिबार काठमाडौंमा श्रद्धान्जललि सभाको आयोजना गरी केही दिन अघि दिवंगत भएका गायकद्वयलाई श्रद्धान्जलि दिइएको हो ।
नेवाः देय् दबू, नेपालभाषा एकेडेमि, नेपालभाषा मंकाः खलः र नेपाल सम्वत न्हूदँ राष्ट्रिय समारोह समितिले संयुक्त रुपमा श्रद्धान्जलि सभाको आयोजना गरेको हो ।
सभामा नेवाः समुदायका गन्यमान्य व्यक्रित्व, अगुवाहरुले गायकद्वको बारेमा बोल्दै श्रद्धान्जलि दिएका थिए ।
सो अवसरमा नेपालभाषा एकेडेमिका भाइस चान्सलर मल्ल के. सुन्दरले राज्यले कलाकारको सम्मान गर्न नसकेको गुनासो गरे । योगेश वैद्यको निधनमा राजकिय सम्मान दिने भनिएको तर, राज्यबाट कसैको उपस्थिती नभएको मल्लले भने ।
‘योगेश वैद्यलाई सम्मान दिने भनेर राष्ट्रिय झन्डा ल्याइयो । सबै जना कुरेर बसे तर, झन्डा ओढाउन राज्यबाट कोही उपस्थित भएनन् । अन्तमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले झन्डा ओढाए’ मल्लले भने ।
राज्यका गहना भनिएका कलाकारहरुलाई राज्यले उपेक्षा गर्ने गरेको उनको भनाई हो ।
कार्यक्रममा नेपालभाषा एकेडेमिका चान्सलर यज्ञरत्न धाख्वाः, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, न्हूदँ राष्ट्रिय समारोह समितिका अध्यक्ष नरेशमान बज्राचार्य र साहित्यकार आर.के. निर्मल लगायतले स्वर्गीय गायकद्वयको विभिन्न पक्षको बारेमा प्रकाश पार्दै बोलेका थिए ।
त्यस्तै गायिका रीता महर्जनले योगेश बैद्य र गायक पवित्र कसाःले भृगुराम श्रेष्ठको गीत गाउँदै श्रद्धान्जलि दिएका थिए ।
Categorized in पेजथ्री