सन् १९५८ फेब्रुअरी ६ दिउँसो ३:०४ बजे
SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ २३, मंगलबार

खेल जगतमा यस्ता कैयन घटनाहरु भएको छन् जसले समग्र विश्वलाई नै स्तब्ध बनाइदियो । यस्तै घटनामध्ये एक हो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको टोली चढेको विमान दुर्घटना । तत्कालीन पश्चिम जर्मनीको म्युनिख रेइम एयरपोर्टमा भएको ब्रिटिस युरोपियन एयरको बिमान दुर्घटनामा इंग्लिस क्लव म्यान्चेस्टर युनायेडटको टोली नै सबै जना परेको थियो ।
‘म्युनिख एयर डिजास्टर’ को नामले चिनिने यो दुर्घटना सन् १९५८ को फेब्रुअरी ६ अर्थात् आजकै दिन भएको थियो । आजबाट ६६ वर्ष पूरा भएको यस दुर्घटनालाई म्यानचेस्टर युनाइटेड र फुटबल क्षेत्रकै भयानक दुर्घटना मानिन्छ ।
विमानमा ३८ जना यात्रु र ६ चालक दलका सदस्यसहित ४४ जना सवार थिए ।
सो दुर्घटनामा म्यानयुका ८ खेलाडीसहित २३ जनाले ज्यान गुमाएका थिए । जसमध्ये १२ जना म्यान्चेस्टर युनाइटेडका खेलाडी तथा अफिसियल थिए । सोही दुर्घटनामा २ जना पत्रकार, दुई चालक दलका सदस्य र दुई अन्य मानिसको पनि मृत्यु भएको थियो । जर्मनीको म्युनिखमा हिमपात भइरहेको समयमा विमान उडाउने प्रयास गर्दा विमान धावन मार्गबाट उछिटिएर दुर्घटना भएको थियो ।
युरोपियन च्यापियनसिपको सन् १९५७/१९५८ को सिजन चल्दै थियो । युनाइटेडको टोली तत्कालिन युगोस्लाभियाको बेलग्रेडमा रेड स्टार बेलग्रेडसँग युरोपियन कप फुटबल खेलेर इंग्ल्यान्ड फर्कदै थियो ।
त्यस बेलामा खेलाडिहरु भने आफ्नो टोली सेमिफाइनल पुग्न सफल भएकोमा खुसियाली मनाइरहेका थिए । युगोस्लाभियाबाट म्युनिखमा इन्धन भर्न ल्यान्ड गरिएको बिमान उडान भर्न लाग्दा रनवेबाट चिप्लिएर नजिकैको घरमा ठोक्किएर दुर्घटना भयो ।
के भएको थियो फेब्रुअरी ६, १९५८ दिन ?
बेलग्रेडसँग खेल खेलेर युनाइटेडको टोली घर फर्कँदै थियो । बेलग्रेडमा जोनी बेर्रीको पासपोर्ट छुट्दा विमान एक घण्टा ढिला म्युनिखतर्फ उडेको थियो । इन्धन भर्नको लागि विमान म्युनिख उडेको थियो । करीब १ः१५ बजेतिरको समयमा विमानले म्युनिखमा अवतरण गर्यो । म्युनिखमा बादल लागेसँगै पानी र हिउँ परिरहेको थियो । सबै खेलाडीहरु गन्तब्य पुग्न उत्साहित थिए ।
कतिपय खेलाडीहरु तास खेल्दै, कोहि गफ गर्दै र केहि म्यागेजिन पढ्दै समय बिताइरहेका थिए । खेलपछि थकित कतिपय खेलाडी भने आराम गरिरहेका थिए । दिउँसोको २ः३१ बजे तिर इन्धन भरीसकेपछि सबै यात्रुहरु टर्मिनलबाट पुनः विमानमा फर्किए ।
त्यसपछि क्याप्टेन रेमेन्ट र क्याप्टेन थाएनले विमान उडानका लागि तयार रहेको बताए । विमान रनवेतर्फ अघि बढाइयो, सबै यात्रुहरु प्रस्थानका लागि तयार थिए ।
तर इन्जिनले अनौठो आवाज निकाल्यो र अचानक प्रेसर गज पनि असामान्य रुपमा हल्लिरहेको देखेपछि क्याप्टेन थाएनले रेमेन्टलाई रोक्न इसारा गरे ।
त्यसपछि दिउँसो २ः३४ बजे क्यापटेन रेमेन्टले दोस्रो प्रयास गर्दै ब्रेक लगाउनु अघि नियन्त्रणमा ल्याउने पुनः कोशिश गर्दा ४० सेकेन्ड नहुँदै इन्जिनको गति अत्यधिक वृद्धि भयो ।
त्यसपछि क्याप्टेनहरुले समस्याको निरीक्षण गर्नुअघि सबै यात्रुलाई लन्जमा फर्किन लगाए । ३ः०४ बजे फ्लाइट डेकमा दुई क्याप्टेनहरु इन्जिन सम्बन्धि समस्याबारे इन्जिनियर विलियम ब्ल्याकसँग छलफल गरिरहेका थिए । तर, उनले म्युनिख विमानस्थल उचाइमा भएकोले त्यस्तो समस्या सामान्य भएको बताए ।
त्यसैले ब्ल्याकले आज राति उडान नभर्न सुझाव दिए । तर क्याप्टेन थाएनले भने निर्धारित समयमै उड्न लगाउन जोड दिन थाले । त्यसपछि विमानको समस्या बिस्तारै समाधान हुने भन्दै दुवै क्याप्टेन आफ्नो कामतर्फ लागे ।
विमानको इन्जिन सुरु गरेर क्याप्टेन रेमेन्टले ब्रेक तान्न थाले र विमानलाई अघि बढाए । ‘फुल पावर’ भन्दासम्म दुवै क्याप्टेनले ब्रेक तानि नै रहे । तर क्याप्टेन थाएनले फेरि अर्को समस्या देखे र को पाइलटलाई मद्दतका लागि बोलाए ।
स्पीड इन्डिकेटरमा हेर्दा क्याप्टेन थाएनले नयाँ खराबी फेला पारे । यसपछि बाहिर हेरिरहेका क्याप्टेन थाएनले बाक्लो हिउँ र एउटा सानो घर अनि रुख विमानकै अगाडि आइसकेको देखे ।
त्यसपछि एउटा भयानक आवाजका साथ विमान रनवेबाट बाहिर गएर ठोकियो । यत्तिकैमा विमानको पछाडिको भाग एउटा घरमा ठोकियो र लगत्तै घर बल्न थाल्यो । ककपिट भने रुखसँग ठोकिन पुग्यो र विमानको छेउ चाहिँ एउटा काठको थुप्रोमा लाग्यो जहाँ पेट्रोलियम पदार्थ र टायरले भरिएको ट्रक राखिएको थियो । त्यसपछि विमानमा ठूलो विस्फोट भयो । (श्रोतः बीबीसी)
उक्त घटनामा २० यात्रुहरुको घटनास्थलमै निधन भयो । तिनीहरुमध्ये म्यान्चेस्टरका खेलाडी जिओफ बेन्ट, रोगर बाइर्न, एडी कोलमन, मार्क जोन्स, डेभिड पेग, टमी टेलर र लियाम वेलन थिए । त्यस्तै क्लबका सेक्रेटरी वाल्टर क्रिकमर, ट्रेनर टम करी र मुख्य प्रशिक्षक बर्ट वालेको पनि निधन भएको थियो ।
पूर्व इङ्ल्यान्ड र म्यानचेस्टर सिटी गोलकिपर र तत्कालीन न्यूज अफ द वर्ल्डका पत्रकार फ्रान्क स्विफ्टको भने अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो ।
अर्का पत्रकार डोनी डेभिसको भने घटनास्थलमै मृत्यु भयो । यस उडानमा को–पाइलट कप्तान केनेथ रेमेन्ट बाँचेका थिए । तर उनी मल्टिपल इन्जुरीवाट गुज्रिरहेका थिए । पाँच हप्ता पछि भने कप्तान रमेन्टको पनि मस्तिष्कघाट भई अस्पतालमा उपचारको क्रममै मृत्यु भयो ।
उक्त दुर्घटनामा युनाइटेडका ९ खेलाडी, एक म्यानेजर, एक पत्रकार र एक क्रु मेम्वर बाँचेका थिए ।
बाँच्नेहरु पाइलट कप्तान जेम्स थाएन, म्यानचेस्टर युनाइटेडका खेलाडीहरुमा जोनी बेरी, ज्याकी ब्लान्चफ्लावर, बबी चार्लटन, बिल फाउल्केस, ह्यारी ग्रेग, केनी मोर्गन्स, अल्बर्ट स्कैनलन, डेनिस वायलेट, रे वुड, म्यानचेस्टर युनाइटेड कर्मचारीमा मैट बस्बी, प्रबन्धक, पत्रकार र फोटोग्राफरहरु फ्रैंक टेलर थिए ।
दुर्घटनाको कारणमा मूलतः पाइलटलाई दोषी देखाइएको थियो । तर पछि रनवेको अन्ततिर विमान चिप्लिएर दुर्घटना भएको भन्ने निकर्ष निकालियो ।
बाक्लो हिउँको कारण विमानको गति कम भयो । टेक अफको समयमा, विमान ११७ नट्स् अर्थात २१७ किलोमिटर प्रति घण्टामा पुगेको थियो । तर, हिउँमा चिप्लेपछि, १०५ नटस् (१९४ किलोमिटर प्रति घण्टा) मा झ¥यो ।
त्यसपछि विमान टेकअफ गर्न धेरै ढिलो भयो । टेकअफ रद्द गर्न पर्याप्त रनवे पनि थिएन । त्यसपछि विमान नियन्त्रण गर्न खोज्दाखोज्दै दुर्घटना हुन पुग्यो ।
त्यो समय युनाइटेडलाई टोलीका म्यानेजर म्याट बस्बीको नामबाट ‘बस्बी बेब्स’ ले समेत चिनिन्थ्यो । त्यतिबेला युरोपमै उत्कृष्ट मानिएको म्यानचेस्टर युनाइटेडको टिम यो दुर्घटनापछि पुनः लयमा फर्किन १० बर्ष लाग्यो ।
उक्त दुर्घटनाको सम्झना स्वरुप ओल्ड ट्राफोर्ड स्टेडियममा राखिएको घडिको समय दिउँसो ३ः०४ बजेमै स्थिर रहने गर्छ । घडिमा १९५८ फेब्रुवरीमा ६ को मिति लेखिएको छ ।
हरेक फेब्रुवरी ६ का दिन विश्वभरिका फुटबल समर्थकहरुले ३ बजेर ४ मिनेटको समयलाई सम्झी विश्वको विभिन्न ठाउँमा श्रद्धाञ्जली सभाको आयोजना गर्ने गरेको छ ।
Categorized in स्पाेर्ट्स