arin enterprises

‘पीसीआर परीक्षणमा होडबाजी भन्दा सीमाका क्वारेन्टाइनमा जोड दिउँ’–मेयर शाक्य

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ जेठ १२, सोमबार

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले उपत्यकामा थप सजगता अपनाउनुपर्ने बताउनु भएको छ ।

लकडाउन सुरु भएदेखि नै उपत्यकाको आवत–जावतलाई कडाई गर्नुका साथै उपत्यका सील गर्न संघीय सरकारलाई पटक पटक आग्रह गर्दै आएकोमा समयमै सजगता नअपनाइएको भन्दै कामपा मेयर शाक्यले उपत्यका प्रवेशमा निर्वाध आवत–जावत नरोकिदाँ समस्या भएको बताउनुभयो । 

उहाँले उपत्यकावासी दुई महिना बढी समयदेखि लकडाउनको पूर्ण पालना गरेर बसेका भएपनि पहुँचका आधारमा र लुकिछिपी लकडाउनको अवज्ञा गर्दै उपत्यका प्रवेश गर्नेहरुका कारण उपत्यका अहिले असुरक्षित भएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । 

अझै पनि राज्यले सजगता नअपनाउने हो र सञ्चारमाध्ययमको भूमिका प्रभावकारी नहुने हो भने स्थिती भयावह हुनसक्ने भन्दै सबै नागरिकलाई सचेत रहन शाक्यले आग्रह गर्नुभयो ।  

उहाँले उपत्यकाका सबै सुरक्षा निकायले स्थानीय तहसँग समन्वय गरेर उपत्यका प्रवेश नाकाको चेकचाँच र निगरानीमा थप कडाई गर्नुको विकल्प नभएको पनि बताउनुभयो । 

‘पहिला पनि निर्णय कार्यान्वयन नहुँदा समस्या भयो, अब त्यस्तो समस्या दोहोरिनु हुन्न,’ उहाँले भन्नुभयो, ‘त्यसका लागि गृह प्रशासनले कडाईका साथ कदम चाल्नुपर्छ । हामी समन्वय गर्न तयार छौँ ।’

उपत्यका प्रवेश विन्दुमा आइपुग्ने सवारी साधनहरुलाई रोक्ने मात्र होइन प्रस्थान जिल्लाबाटै सुरक्षा निकायले विशेष निगरानीका साथ रोक्न र आगमन कडाइका साथ लागु गर्न पनि शाक्यले पुनः आग्रह गर्नुभयो ।

 

कोराना अघि–अघि, राज्य पछि–पछि नहोस्

प्रमुख शाक्यले पछिल्लो समय आरडीटी र पीसीआर परीक्षण गर्नेको होडबाजी नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । 

एउटा जिल्लाबाट अर्को जिल्ला, एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा आवत जावतलाई पूर्ण रुपमा नरोक्ने हो भने परीक्षण मात्रै गरेर कोरोना रोकथाम र नियन्त्रण नहुने शाक्यको भनाई हो ।

जनघनत्व निकै रहेको उपत्यका असुरक्षित हुँदा एकै पटक परीक्षणमा करोडौँ रुपैयाँ खर्च हुने औंल्याउँदै शाक्यले उपत्यकालाई सुरक्षित बनाउनुपर्नेमा जोड दिनुभयो ।

‘अहिले उपत्यकामा लकडाउनका बेला उपत्यका भित्र र बाहिर आउ–जाउ गर्ने नै अधिकांश संक्रमित भएको देखिएको छ । उहाँले भन्नुभयो, ‘उपत्यका प्रवेशमा कडाई नगर्ने अनि लुकिछिपी र पहुँचका आधारमा उपत्यका प्रवेश गरेका संक्रमित र उनीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षण गर्दै जाने हो भने कोराना अघि–अघि, राज्य पछि–पछि हुन्छ ।’ 

आरडीटी र पीसीआर परीक्षणमा हुने खर्चले सीमा–सीमामा सुविधा सम्पन्न क्वारेन्टाइन निर्माणमा ध्यान दिन उहाँले सुझाव दिनुभयो । 

अहिले सीमा–सीमामा भारतबाट आउने नेपाली नागरिकको चाप बढेको बेला क्वारेन्टाइनमा खाने–बस्ने सुविधा नभएको र क्वारेन्टाइनमा बस्नेहरु भाग्ने गरेकोमा शाक्यले चिन्ता व्यक्त गर्नुभयो । 

क्वारेन्टाइनमा १४ दिनसम्म खाने, बस्ने सुविधा राम्रो भयो भने सरकारको विरोध पनि कम हुने उहाँले दाबी गर्नुभयो । 

पछिल्लो समय परीक्षण मात्रै भन्दै अर्थतन्त्रको बारेमा ध्यान नदिँदा थप जटिलता पैदा भएको शाक्यले भन्नुभयो । 

‘परिक्षण–परीक्षण मात्रै भनिरहेका छौँ, त्यस पछिको आर्थिक पाटोका बारेमा हामीले सोचेकै छैनौँ,’ उहाँले भन्नुभयो, ‘राज्यले सित्तैमा गर्ने हो भन्दै पहुँचको आधारमा परीक्षण गरौँ भन्ने लहडमा हिड्यौँ भने मुलुकको अर्थतन्त्र नियन्त्रण भन्दा बाहिर जानसक्छ ।’ 

लकडाउनको अवज्ञा गरेर लुकीछिपी राज्यको आँखा छलेर जथाभावी हिड्ने व्यक्तिका कारण कोरोना संक्रमण फैलिने अवस्था आयो भने त्यस्ता व्यक्तिलाई दण्डित गर्नेसम्मको तयारी राज्यले गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

 

नाकामा कडाई, अर्थतन्त्र चलायमान 

संघीय राजधानी काठमाडौंमा उद्योग नचल्दा अर्थतन्त्रमा गम्भीर असर पर्ने सम्भावना शाक्यले औंल्याउनुभयो । 

यहाँका उद्योग–धन्दा महिनौँसम्म ठप्प हुँदा देशको अर्थतन्त्रमा नै नकरात्मक असर पर्ने हुँदा यसतर्फ गम्भीर भएर सोच्नुपर्ने शाक्यको भनाई हो । 

‘परीक्षणका नाममा खर्च बढ्ने अनि आन्दामीका स्रोतहरु बन्द हुने हो भने हामी दोहोरो मारमा पर्छौ र झन भयावह अवस्था आउन सक्छ’ शाक्यको भनाई हो । 

उपत्यका पूर्णरुपमा सील गरेर यहाँ उपलब्ध जनशक्तिलाई परिचालन गरेर उद्योग, कलकारखाना र निर्माणका काम अघि बढाउने रणनीति तय गर्न उहाँले आग्रह गर्नुभयो । 

अहिले तत्काल उद्योग–व्यवसाय चलाउने, कार्यालय खोल्ने, निर्माणका काम अघि बढाउने नाममा अनावश्यक रुपमा नागरिक उपत्यका भित्रयाउने हो भने समस्या झन बढ्ने अवस्था पनि शाक्यले दर्शाउनुभयो । उहाँले भन्नुभयो, 

‘अहिले उपत्यकामा उपलब्ध जनशक्तिबाटैसामाजिक दुरी कायम गर्ने, सुरक्षाका सबै उपाय अपनाउने गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ । विस्तारै संक्रमणको खतरा कम हुँदै गएपछि उपत्यका प्रवेशमा सहज बनाउनुपर्छ’ शाक्यले भन्नुभयो ।

Categorized in राष्ट्रिय