भारोत्तोलन प्रतियोगीतामा भाग लिन नेपाली टोली उज्वेकिस्तान जाँदै
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ २४, बुधबार

पेरीस ओलम्पिक क्वालिफाइङ गेम २०२४, एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन नेपाली भारोत्तोलन खेल टोली उज्वेकिस्तान प्रस्थान गर्ने भएको छ । टोली आज बुधबार उज्वेकिस्तानको तास्केन्त सहर प्रस्थान गर्न लागेको हो ।
नेपाल भारोत्तोलन संघका सदस्य राम सुन्दर श्रेष्ठ सुशनको व्यवस्थापनमा प्रशिक्षक जीवन गौतम र भारोत्तोलन खेलाडी सागर भण्डारीको टोली सो प्रतियोगिताको लागि उतातिर जान लागेका हुन । सागर भण्डारी यसअघि १९औं एशियाडमा ३०३ केजीको भार वहन गर्दै किर्तिमान राख्ने खेलाडी हुन् ।
फेब्रुअरी ३ देखि शुरु भएको उक्त प्रतियोगितामा भण्डारीले पुरुष १०९ केजी माथिको तौल समुहमा फेब्रुअरी १० मा खेल्नेछन् ।
गत मंगलबार नेपाल ओलम्पिक कमिटीले ३ सदस्यीय टोलीलाई एक कार्यक्रमको आयोजना गर्दै विदाइ गरेको थियो । कार्यक्रममा ओलम्पिक कमिटीका अध्यक्ष तथा पूर्व मन्त्री जीवनराम श्रेष्ठले टोलीलाई सफलताको शुभकामना सहित विदाइ गर्नुभयो ।
नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थित मुख्यालयमा आयोजित कार्यक्रममा ओलम्पिक कमिटीका उपाध्यक्ष, कार्यकारिणी निर्देशक तथा टेबुल टेनिस संघका अध्यक्ष चतुरानन्द वैद्य, नेपाल फेन्शिङ संघका महासचिव एवं कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम सुन्दर श्रेष्ठ लगायत संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
Categorized in स्पाेर्ट्स