arin enterprises

एकैदिन ९० जनामा संक्रमण पुष्टि, नयाँ संक्रमित संख्या आजसम्मकै उच्च

SamacharDesk – विकाश | २०७७ जेठ १३, मंगलबार

नेपालमा आज एकैदिन ९० जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमण पुष्टिको यो संख्या आजसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशका विभिन्न प्रयोगशालामा परिक्षणहरु भएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षणमा ३५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

महोत्तरी मनरा गाउँपालिका १० का ३० र ३५ वर्षीय पुरुष दुई जनामा संक्रमण पुष्टि भएको छ भने जुम्ला स्थायी ठेगाना भएका हाल बारामा कार्यरत ३५ र ३६ वर्षीय पुरुष दुई जनामा पनि संक्रमण पुष्टि भएको छ ।

बारा पचौटा नपा १ पिपरपटी मावि क्वारेन्टाइनमा रहेका १९, ३० र ३५ वर्षीय पुरुष ३ जना पनि कोरोना पोजेटिभ भेटिएका छन् ।

रौतहट गौर नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ । तिनीहरु ४ देखि ४० वर्षसम्मका रहेका छन् । तीमध्ये ७ जना पुरुष छन् भने एकजना महिला हुन् ।

रौतहटका विभिन्न ठाउँमा संक्रमण पुष्टि भएको छ ।  रौतहट देवाही गुनाहि नगरपालिकाका र धर्राहि गुनाहि नगरपालिकामा ६ जना पुरुषमा संक्रमण देखिएको छ । तिनीहरु १८ देखि ४१ वर्षसम्मका रहेका छन् ।

रौटहटकै करुणिया १ र ४ का २६ देखि ४८ वर्षीय पुरुषहरु ६ जनामा संक्रमण देखिएको छ भने राजदेवी नगरपालिकाका १ जना २२ वर्षीय पुरुष पनि संक्रमित भएका छन् ।

रौतहट गरुडा नगरपालिकाका ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ भने सिराहा नवराजपुर गाउँपालिकाका १८ वर्षीय पुरुष पनि संक्रमित भए ।

सिराहा भगवानपुर गाउँपालिकाका २५ देखि २९ वर्षसम्मका ४ जना पुरुषमा पनि संक्रमण देखिएको छ । 

धनुषा बेलामुखियापती गाउँपालिकाका कोभिड १९ अस्पताल जनकपुरमा रहेका २२ वर्षीय पुरुषको परिक्षणमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

भेरी अस्पतालमा गरिएको परिक्षणमा एक जनामा संक्रमण देखिएको छ । बाँके नेपालगंज २ का २२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

रुपन्देहीको प्रादेशिक प्रयोगशालामा ७ जनामा संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तु मायादेवी ७ का २ जनामा संक्रमण देखिएको छ । उनीहरु २२ र ५० वर्षीय पुरुषहरु रहेका छन् ।

अर्घाखाँची कमला मावि पनिनी ८ का १९ र ४३ वर्षीय पुरुषहरु २ जनामा पनि संक्रमण देखिएको छ ।

गुल्मी धुर्कोटका दुई जना पुरुष पनि संक्रमित भएका छन् भने रुपन्देही लुम्बिनी अस्पतालका २२ वर्षीय पुरुषको परिक्षणको नतिजा पनि पोजेटिभ आएको छ ।

सेती प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका एक जना र अछामका एकजनामा गरी दुई जनामा कोरोना संक्रमण देखिएको छ ।  

पोखरामा गरिएको परिक्षणमा स्याङजा वालिङ ७ का २० र २९ वर्षीय पुरष २ जनामा कोरोना संक्रमण देखिएको छ । 

सुर्खेत प्रादेशिक अस्पताल पशुपंछि रोग अन्वेषण प्रयोगशालाको परिक्षणमा १२ जनामा संक्रमण देखिएको छ ।

सुर्खेत वीरेन्द्रनगरमा ९ देखि ४६ वर्षीय पुरुष ७ जना र एकजना महिलामा संक्रमण पुष्टि भएको छ ।

सुर्खेत भेरीगंगामा १६ र १७ वर्षीय पुरुष २ जनामा पनि संक्रमण देखिएको छ ।

सुर्खेत सिम्टामा पनि दुई जना संक्रमित भेटिएका छन् । ३५ र ४९ वर्षीय पुरुष दुई जनामा संक्रमण देखिएको हो ।

यसको साथै नेपालगंजमै ७ जनामा संक्रमण देखिएको छ ।  

बाँके डुडुवा २ का २० वर्षीय पुरुषमा संक्रमण देखिएको छ भने डुडुवा ३ का २१, ३६ र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । साथै बाँके राप्तीसोनारी ३ का ४६ वर्षीय पुरुष एकजना र राप्तीसोनारी ९ का ३८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

बाँकेको वैजनाथ ३ का ३० वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाको १, २ र ८ मा थप २४ जना पोजेटिभ देखिएका छन् ।

तिनीहरु २ वर्षकी बालिकादेखि १९ देखि ५५ वर्षका २३ जना पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ७ सय ७२ जना पुगेको छ ।

संक्रमण फैलिएको जिल्लाको संख्या भने ४६ पुगेको छ । निको हुनेको संख्या एक सय ५५ पुगेको छ भने ४ जना संक्रमितको मृत्यु भइसकेको छ ।

स्वास्थ्य मन्त्रालयको प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटोले हालसम्म पिसिआर विधिबाट गरिएको परिक्षणको संख्या ५४ हजार ४ सय २४ र आरडिटि विधिबाट गरिएको परिक्षणको संख्या ९७ हजार ९ सय ६७ पुगेको जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट ३ हजार ७ सय ८२ वटा र आरडिटि विधिबाट २ हजार ७ सय ७५ वटा परिक्षण भएको छ ।

Categorized in राष्ट्रिय