arin enterprises

पर्सामा थप २१ जना कोरोनाबाट निको भए

SamacharDesk – विकाश | २०७७ जेठ १४, बुधबार

पर्सामा थप २१ जना कोभिड–१९ संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । 

गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनीहरुलाई मंगलबार राति नै डिस्चार्ज गरिएको छ ।

अस्पतालबाट डिस्चार्ज हुनेहरु सबैलाई विदाइ गर्न वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी समेत पुगेका थिए । मेयर सरावगी र स्वास्थ्यकर्मीहरुले उनीहरुलाई फूल दिएर विदाई गरे ।

पछिल्लो दुईवटा परिक्षणको रिपोर्ट लगातार दुई नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा १५ महिनादेखि ७४ वर्ष उमेरसम्मका ४ महिला र १७ जना पुरुषहरु छन् । 

डिस्चार्ज हुने सबै वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन् । उनीहरु गत वैशाख २७ देखि ३० गतेसम्म भर्ना भएका थिए । 

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या एक सय ७६ पुगेको छ ।

गण्डक अस्पतालमा अब ९ जना संक्रमित उपचाररत छन् ।

यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए ।

पर्सामा कोरोना संक्रमितको उपचारको लागि एक सय २८ बेड क्षमताको आइसोलेसन वार्ड रहेको छ । 

७० शैय्या क्षमताको नारायणी अस्पताल अहिले खाली छ  । गण्डक कोरोना विशेष अस्पतालमा ५० र पोखरिया नगरपालिकामा ८ बेडको आइसोलेसन छ ।

Categorized in समाज