जय बागेश्वरीमा ग्वल अर्केष्ट्रा सम्पन्न
SamacharDesk – बिराज | २०८० फाल्गुण ५, शनिबार

जय बागेश्वरीमा आज शनिबार परम्परागत बाद्यवादनको सामुहिक प्रस्तुति ‘ग्वल अर्केष्ट्रा’ सम्पन्न भएको छ ।
काठमाडौँ महानगरपालिका र ग्वल बाजं खलःले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रम महानगरपालिकाको वडा नं. ८, पशुपति क्षेत्रमा भएको हो ।
अर्केष्ट्रामा महानगरपालिकाको पूर्वी क्षेत्रका ६ वटा वडा (वडा नं. १, ५, ६, ७, ८ र ३०) का परम्परागत बाद्य समूहले विभिन्न बाजागाजाको प्रस्तुति दिएका थिए ।
समूहले सामाजिक, धार्मिक कार्यक्रमहरुमा बजाइने धिमय् (ठूलो÷सानो), पछिमा, खिं, क्वंचाखिं, नायःखिं, धाः, मादल, पोङ्गा, बाँसुरी लगायत बाजागाजाका धुन प्रस्तुत गरेका थिए ।
त्यस्तै भुस्याः, छुस्या, ताः, बबैचा, चिम्टा, घाङ्गल, ताइनादेचाःका विभिन्न बोल, धुन र ताल बजाइएको थियो । कार्यक्रममा अहिले लोकप्रिय विभिन्न गीतका धुन पनि बजाइएको थियो ।
कार्यक्रममा बोल्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले परम्परागत बाद्यबादनमा युवा पुस्तालाई आकर्षित गराउन र पुस्तान्तरण गराउन वडाले थालेको प्रयासको प्रशंसा गरिन् ।
‘यो थालनी हरेक वडामा विस्तार हुने आशा लिएको छु । यसबाट अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्छ भने पर्यटन प्रवर्ध्दनका लागि योगदान हुन्छ’ कार्यक्रम संयोजक, वडा ८ का अध्यक्ष साथै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले भने ।
ग्वल क्षेत्रमा ९ वटा पोखरी, ९ वटा ढुङ्गेधारा, ९ वटा इनार, ९ वटा ढोका, ९ वटा शक्तिपीठ, ९ वटा पाटीपौवा, ९ वटा डवली, ९ वटा टोल र ९ थरी जात छन् । अर्केष्ट्रा बादन यिनै सम्पदासँग सम्बन्धित थिए ।
बाद्यवादनसँगै कार्यक्रममा श्री गुरु नित्यनाथ बाजः खल, नर थतुत्वा नास खल र ग्वल बाज खलले परम्परागत नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्थानीय मौलिक खाना तथा परिकारहरुका स्टलहरु राखिएका थिए ।
Categorized in पेजथ्री