ऐन पास नहुँदा चलचित्र क्षेत्र अघि बढ्न सकेनः अध्यक्ष भुवन केसी
SamacharDesk | २०८० फाल्गुण ७, सोमबार

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्र अघि बढ्न नसक्नुको कारण चलचित्र ऐन पास नहुनु रहेको बताउनुभएको छ ।
आईतवारबाट मकवानपुरमा शुरु भएको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले अहिलेसम्म चलचित्र क्षेत्र विकास हुन नसक्नुको जड चलचित्र ऐन पारित नहुनु रहेको बताउनु भयो । उहाँले अहिले विकास बोर्डले विभिन्न समस्या केलाएर चलचित्र ऐनको अन्तिम ड्राफ्ट तयार पारेको बताउनु भयो ।
उहाँले पहिला पनि मन्त्रालयमा ऐन पठाइएकोमा चलचित्रको स्वायत्तताको विषयमा काटिएर आएका कारण पुनः पठाउने तयारी गरेको बताउनु भयो । उहाँले नयाँ ड्राफ्टमा स्वायत्तताको मागलाई प्राथमिकतामा राखिएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘चलचित्र विकास बोर्डमा म गएको दिनदेखि मैले महशुस गरेको कुरा के हो भने चलचित्र क्षेत्र धेरै अगाडि बढिसक्नुपर्ने थियो । त्यो अहिलेसम्म अगाडि बढ्न नसक्नुको जड कारण मैले बुझेको अहिलेसम्म चलचित्र ऐन पास नहुनु नै मुख्य कारण हो । किनभने त्यो ऐनभित्र विभिन्न समस्याहरुको समाधान त्यसमा खोजिएको छ ।’
अध्यक्ष केसीले चलचित्र विकास बोर्डलाई दिइएका अधिकार प्रयोग गरेर राम्रो कामहरु अघि बढाइरहेको बताउनु भयो ।
Categorized in पेजथ्री