आज ज्येष्ठ १५, गणतन्त्र स्थापनाको १२ वर्ष पूरा
SamacharDesk – विकाश | २०७७ जेठ १५, बिहिबार

आज ज्येष्ठ १५ गते । नेपालमा राजतन्त्रको अन्त्य भइ गणतन्त्रको शुरुवात भएको दिन ।
देश तथा विदेशमा रहेको सम्पूर्ण नेपालीहरु संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको १२ वर्ष पूरा भइ १३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले गणतन्त्र दिवस मनाउँदैछन् ।
कोरोना महामारीका कारण देशैभर लकडाउन जारी रहेको अवस्थामा यस वर्ष कुनै औपचारिक कार्यक्रम गर्दै धुमधामका साथ भने गणतन्त्र दिवस मनाउन पाइएन ।
सरकारले गणतन्त्र दिवसको उपलक्ष्यमा तीन दिन दिपावली गर्न आव्हान गरेको छ । सरकारले ज्येष्ठको १४, १५ र १६ गते दिपावली गर्न सम्पूर्ण नेपालीहरुमा आव्हान गरेको हो ।
सोही अनुसार यस वर्ष भने सबैले घरघरमै बसेर दिपावली गर्दै गणतन्त्र दिवस मनाउँदैछन् ।
तत्कालीन समयमा राजा ज्ञानेन्द्रले कु गर्दै सम्पूर्ण शासनसत्ता आफ्नो हातमा लिएपछि भएको जनआन्दोलन २०६२÷६३ भएको थियो ।
सो जनआन्दोलन पछि भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।
आम नागरिककै हातमा देशको शासन सत्ता आएपछि सम्पूर्ण नेपालीहरुमा छाएको उत्साह भने अहिले कायम हुन नसकेको देखिन्छ ।
गणतन्त्र आएको एक दशक बढि भइसक्दा पनि जनअपेक्षा अनुरुपको प्रगति हुन नसकेको भन्दै जनतामा निराशा छाएको छ ।
देशलाई विकासतर्फ डोर्याउने जिम्मा लिएका नेतृत्ववर्ग सत्ता मोहमै बढि केन्द्रित रहँदा र गणतन्त्र ल्याउन एकजुट भएका दलहरु नै एक अर्काको खिचातानीमै मात्र सिमित रहँदा जनतामा उत्साह जाग्न नसकेको देखिन थालेको छ ।
एउटा परिवारको शासनबाट शासित जनताकै हातमा शासन आइसकेपछि नेतृत्ववर्ग दलीय वा सिमित समूहगत भन्दा राष्ट्रिय हितमा अघि सर्दै गणतन्त्रलाई संस्थागत गरिनुपर्ने आजको प्रमुख आवश्यकता हो ।
यसैबीच गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । यस्तै आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ माफी पनि गरिएको छ ।
साथै, गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र स्थापनाको छोटो समयको उपलब्धीबाट नेपाललाई विकसित राष्ट्रको नयाँ पहिचान दिन सक्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने चेष्टाहरु अनुचित रहेको भन्दै प्रधामन्त्री ओलीले इतिहासलाई अब कसैले फर्काउन नसक्ने पनि बताए ।
Categorized in राष्ट्रिय