arin enterprises

१५६ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या एक हजार नाघ्यो

SamacharDesk – विकाश | २०७७ जेठ १५, बिहिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जारी लकडाउन यता नयाँ संक्रमितको यो संख्या आजसम्मकै उच्च हो ।

योँसगै नेपालमा कोभिड १९ संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । तीमध्ये पुरुष ९ सय ४० जना र महिला एक सय २ जना रहेको छ ।

संक्रमितमध्ये एक सय ८७ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा ७७ जनामा संक्रमण देखिएको छ । 

त्यसैगरी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना, कोशी अस्पताल विराटनगरमा २५ जना र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

सार्थ सुर्खेत प्रादेशिक प्रयोगशालामा २३ जना, धुलिखेल अस्पतालमा १७ जना र प्रादेशिक प्रयोगशाला गण्डकी ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सेती अस्पतालमा ३ जना, भेरी अस्पतालमा ४ जना र किटजन्य प्रयोगशाला हेटौंडामा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार धनुषामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषामा ४ वर्षकी बालिका र ८ वर्षका बालक समेत गरी १४ देखि ७० वर्ष उमेरसम्मका छन् ।

रौतहटमा संक्रमण पुष्टि हुनेमा ८ बर्षीया बालिका एकजना र १२ देखि ४० वर्षसम्मका पुरुषहरु १९ जनामा संक्रमण पुष्टि भएको छ । 

सर्लाहीमा ७ जना र सिराहाका ६ जनाको परिक्षणमा कोरोना पोजेटिभ देखिएको छ । महोत्तरीमा १५ देखि ४५ वर्ष समूहका १७ जनामा संक्रमण पोजेटिभ देखिएको छ । 

सप्तरीमा १४ जनामा संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ४७ वर्ष उमेर समूहका रहेका छन् ।

सुर्खेतमा १३ जना, बझाङमा एक जनामा संक्रमण पुष्टि भएको छ । एक जना महिलाको भने पहिचान खुल्न नसकेको जनाइएको छ ।

यस्तै दैलेखका १७ देखि ४० वर्षका ७ पुरुष र २० वर्षीया महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको छ । 

दोलखामा दुई जना पुरुषमा संक्रमण देखिएको छ । उनीहरु १९ र २० वर्षका हुन् । 

सोलुखुम्बुमा पनि ५५ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको छ । 

मकवानपुरमा ५० वर्षका र नवलपुरमा १९ वर्षका एक एक जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

स्याङ्जाका दुई पुरुष र एक जना महिला गरी तीन जनाको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ । पुरुषहरु २२ र २६ वर्षका हुन् भने ४९ वर्षीया महिला रहेका छन् ।

दार्चुलाका २५ वर्षीय पुरुष तथा कैलालीका २५ र ३० वर्षका दुई जना समेत ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । 

यसैगरी बर्दियाका ३ र बाँकेका एक पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।

आज सोलुखुम्ब, दोलखा, बझाङ र दार्चुला थप भई कुल ५१ जिल्लामा संक्रमण फैलिएको छ ।

प्रवक्ता डा. देवकोटाका अनुसार आजसम्ममा पिसिआर विधिबाट ६० हजार ६ सय ९६ वटा र आरडिटी विधिबाट १ लाख २ हजार ३४ वटा परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा पिसिआर विधिबाट २ हजार ४ सय १९ र आरडिटि विधिबाट १ हजार ७ सय ४७ वटा परिक्षण भएका छन् ।

पछिल्ला दिनमा भारतबाट आउनेहरूको संख्या बढेसँगै नेपालमा पनि संक्रमितको संख्या तीव्र रूपले बढेको हो ।

Categorized in राष्ट्रिय