बेलायतमा जुनबाट लकडाउन खुकुलो गर्ने तयारी
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १५, बिहिबार

कोरोना संक्रमणका कारण सबभन्दा बढि मृत्यु भएको यूरोपीय मूलुक बेलायतमा केही दिन यताबाट मृत्युदर घट्दै गएको छ । मृत्युदर घटेसँगै यहाँ अब लकडाउन खुकुलो बनाउने तयारी शुरु भएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आउँदो जुन महिनाबाट लकडाउनलाई सहज बनाउने बताएका छन् ।
सोमबार साँझको सम्बोधनमा प्रधानमन्त्री बोरिसले जुन १ देखि अत्यावश्यक खुद्रा पसल, शोरुमहरु सुचारु गर्न पाउने बताए ।
साथै जुन १५ बाट कपडा पसल, जुत्ता पसल, खेलौना, फर्निचर, पुस्तक विद्युतीय सामग्री, फोटोग्राफी स्टुडियो जस्ता पसलहरु पनि खोल्न पाइनेछ ।
लकडाउन खुकुलो भएपनि समाजिक दुरी कायम राख्दै सतर्कता भने अपनाउनुपर्नेछ । सामाजिक दुरीको नियम पालना गरेको वा नगरेको सम्बन्धमा ‘स्पट चेक’ गरिनेछ ।
यसको साथमा सबै पसलमा स्पष्ट रुपमा कोरोना सम्वन्धी जनचेतनामूलक पोष्टर पनि राख्नुपर्नेछ ।
निरन्तर प्रयोग भइरहने ट्रली, कफी मेशिन जस्ता सामग्रीहरुको विशेष सफाइमा ध्यान पुर्याउनुपर्ने नियम पनि बनाइएको छ ।
युरोपका केहि मुलुकहरुले यसअघि नै लकडाउनलाई खुकुलो बनाउँदै लगेका छन् ।
युरोपीय मुलुक बेलायत कोरोना संक्रमणबाट अति प्रभावित मूलुकमा पाँचौ स्थानमा छ ।
बेलायतमा हालसम्म ३७ लाख ९८ हजार ४ सय ९० जनामा कोरोनाको परीक्षण गरिएकोमा २ लाख ६७ हजार २ सय ४० जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टाभित्र थप २ हजार १३ जनाको परिणाम पोजेटिभ आएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा ४ सय १२ जनाको मृत्यु भएको छ भने हालम्म बेलायतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ हजार ४ सय ६० पुगेको छ ।
इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दर्न आएरल्याण्डका अस्पतालमा गएको २४ घन्टामा ७७ जनाको मृत्यु भएको छ ।
यो संख्या गत मार्च २३ मा लकडाउन सुरु भए यताकै सबैभन्दा कम भएको बताइएको छ ।
Categorized in अन्तर्राष्ट्रिय