२६ बर्ष आजकै दिन टाइटानिकले राखेको थियो रेकर्ड
SamacharDesk | २०८० फाल्गुण १८, शुक्रबार

१९९८ मार्च १, यो दिन विश्वको चलचित्र क्षेत्रको लागि एउटा विशेष दिन हो । २६ वर्ष अघि आजकै दिन अर्थात १९९८ मार्च १ मा हलिउडको चर्चित फिल्म ‘टाइटानिक’ ले सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको रेकर्ड राखेको थियो ।
सन् १९९८ मा आजकै दिन यस फिल्मले एक अर्ब अमेरिकी डलरको व्यापार गर्ने पहिलो फिल्मको रेकर्ड राखेको थियो ।
सन् १९९७ को डिसेम्बर १९ मा रिलिज भएको लभस्टोरी फिल्म टाइटानिक जेम्स क्यामरुनले निर्देशन गरेका हुन् । २० करोड अमेरिकी डलरमा बनेको ‘टाइटानिक’ ले हालसम्म २ अर्ब १९ करोड अमेरिकी डलर कमाएको थियो ।
हलिउडमा हालसम्म छ वटा फिल्मले मात्र २ अर्ब अमेरिकी डलर माथिको व्यापार गर्न सफल भएका छन् ।
विश्वभर सर्वाधिक कमाउने फिल्म मध्ये टाइटानिक चौथो स्थानमा छ भने छ वटा फिल्ममध्ये तीनवटा भने क्यामरुनकै निर्देशकमा बनेको छ । शीर्षस्थानमा क्यामरुनकै निर्देशनमा बनेको अवतारले २ अर्ब ९२ करोड ३७ लाख अमेरिकी डलरको व्यापार गरेको थियो । त्यस्तै, दोस्रो स्थानको ‘एभेन्जर्स: एन्ड गेम (२०१९) ले २ अर्ब ७९ करोड ९४ लाखको कमाएको थियो ।
क्यामरुनकै निर्देशनमा बनेको तेस्रो स्थानको ‘अवतारः द वे अफ वाटर (२०२२)’ ले २ अर्ब ३० करोड ६१ लाखको कलेक्सन गरेको थियो ।
त्यस्तै ‘स्टार वार्सः द फोर्स अवकेन्स (२०१५) ले २ अर्ब ७ करोड १३ लाख र ‘एभेन्जर्स: इन्फिनिटी वार (२०१८) ले २ अर्ब ५ करोड २४ लाख डलरको व्यापार गरेको थियो ।
लियोनार्दो डिकाप्रिओ र केट विन्सलेटको मुख्य भूमिका रहेको फिल्म टाइटानिकले सन् १९९८ मा विभिन्न ११ विधामा अक्सर अवार्ड पनि जितेको थियो ।
११ विधामा अक्सर अवार्ड जित्नेमा हालसम्म सन् १९९७ को टाइटानिक, सन् १९५९ को बेन–हुर र सन् २००३ को द लर्ड अफ द रिङस्ः द रिटर्न अफ द किङ छन् ।
Categorized in पेजथ्री