arin enterprises

थामी चलचित्र संघमा शरण थामीको नेतृत्व

SamacharDesk – बिराज | २०८० चैत्र १०, शनिबार

थामी चलचित्र संघको प्रथम महाअधिवेशन सम्पन्न थामी समुदायका चलचित्रकर्मीहरुको संगठन थामी चलचित्र संघले आगामी तीन वर्षको लागि शरण थामीको नेतृत्व पाएको छ ।

काठमाडौंमा सम्पन्न संघको पहिलो महाधिवेशनले शरण थामीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । महाधिवेशनले शरणको अध्यक्षतामा नौ सदस्य केन्द्रिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

संघको उपाध्यक्षमा सुशिला थामी चएका भएकी छन् भने सचिवको जिम्मेवारी ममिता थामीले पाएकी छन् ।

महाधिवेशनले कविन्द्र कुमार थामीलाई कोषाध्यक्षमा चुन्दा सदस्यहरुमा क्रमश अनन्त बहादुर थामी, खगेन्द्र थामी, दिलबहादुर थामी, चन्द्रबहादुर थामी र रमा थामी सर्वसम्मत निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वाचित भएसँगै समाचारडेस्कसँग कुरा गर्दै शरणले थामी साथै आदिवासी जनजाति चलचित्र क्षेत्रमार्फत समुदायको आवाज बुलन्द गर्न आफु लागिपर्ने बताए ।

‘हामी मनोरन्जनको लागि मात्र चलचित्र बनाउँदैनौं, यो एउटा अभियान हो । हाम्रा चलचित्रले देशकै पहिचान बोकेको हुन्छ, समुदायको आवाज बोकेको हुन्छ । हाम्रो अभियान अझ सशक्त ढङ्गले अगाडी बढाउन मैले काम गर्नेछु’ नवनिर्वाचित अध्यक्ष शरणले भने ।

जनजाति चलचित्रकर्मीमाथि राज्यको विभेद कायमै रहेको गुनासो

यस अघि महाधिवेशनको उद्घाटन सत्रमा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राईले अहिले संघीय गणतन्त्र स्थापना भइसकेको अवस्थामा पनि राज्यले आदिवासी जनजातिलाई विभेद गर्दै आएको गुनासो गरे ।

ठुलो बजारमा जाने व्यावसायिक चलचित्रकै आदिवासी जनजाति चलचित्रलाई पनि व्यवहार गरिँदा मातृभाषी चलचित्रको उत्थानमा अवरोध भइरहेको अध्यक्ष राईको भनाई हो ।

‘हाम्रो मुद्दा, हाम्रो संस्कृति नबुझ्ने मान्छेहरुले हाम्रो चलचित्रलाई सेन्सर गर्छ । ठुलो बजारमा जाने व्यावसायिक चलचित्रकै नीति हामीमाथि लादिन्छ । अनि हामीलाई नै फेर तिमीहरुको चलचित्र स्तरीय भएन भनिन्छ’ राईले भने ।

नेपालकै पहिचान दिने आदिवासी जनजाति चलचित्रलाई राज्यले नै संरक्षण गर्नुपर्ने माग राईले राखे ।

थामी समुदायको लागि चलचित्र निर्माण सम्वन्धि अध्ययन गर्न पचास प्रतिशत छात्रवृत्तिको लागि नेपाल सरकारसँग समन्वय गरी व्यवस्था गर्ने वचनवद्धता राईले प्रकट गरे ।

कार्यक्रममा नेपाल थामी समाजका पूर्व उपाध्यक्ष टेकराज थामी, थामी चलचित्र संघका साविक केन्द्रिय अध्यक्ष नानु थामी लगायतले थामी समुदायको भाषा, कला, साहित्य, संस्कृतिको संरक्षणमा थामी चलचित्रकर्मीहरुले योगदान दिनुपर्ने चर्चा गरेका थिए ।

Categorized in पेजथ्री