विभेद कायम रहे बोर्डमा ताला लगाउने जनजाति चलचित्रकर्मीको चेतावनि
SamacharDesk – बिराज | २०८० चैत्र १०, शनिबार

आदिवासी जनजाति चलचित्रको संरक्षण र चलचित्रकर्मीको यथोचित सम्मानका लागि कुनै पहल नभए चलचित्र विकास बोर्डमा तालाबन्दी गर्ने चेतावनी जनजाति चलचित्रकर्मीहरुले दिएका छन् ।
काठमाडौंमा शुक्रबार सम्पन्न एक अन्तरक्रिया कार्यक्रमका वक्ता जनजाति चलचित्रकर्मीहरुले यस्तो चेतावनी दिएका हुन् ।
चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिले आदिवासी जनजाति मातृभाषी चलचित्रको निर्माण, प्रवर्ध्दन, सहकार्य र बजारीकरण विषयक विचार गोष्ठी तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
सो कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राईले चलचित्र विकास बोर्डले ३ दशक भन्दा बढि चलचित्र क्षेत्रमा योगदान दिने जनजाति चलचित्रकर्मीलाई परिचय पत्र उपलब्ध नगराउँदा १० वर्ष पनि काम नगरेका सीमित व्यक्तिहरुलाई भने परिचय पत्र उपलब्ध गराएको आरोप लगाए ।
‘जनजातिले भने ३०औं वर्ष काम गरे पनि नपाउने, अरुले १० वर्षमै पाउने यो कस्तो परिचय पत्र रहेछ ? बोर्डले कुन मापदण्ड, कुन नीति नियम अनुसार त्यो परिचय पत्र दियो वा दिएन, स्पष्ट पार्नुपर्छ’ अध्यक्ष राईले भने ।
चलचित्र निर्माता साथै चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राईले जनजाति चलचित्रकर्मीहरुले अधिकारको माग भने गर्ने तर प्रकृया, नियम पूरा गर्नुपर्दा झन्झट मान्ने गरेको विचार राखे ।
मौलिक विषयवस्तुमा अध्ययन गरेर स्तरीय चलचित्र निर्माण गर्ने गरेमा जनजाति मातृभाषी चलचित्रहरुले अन्तर्राष्ट्रिय बजार पाउन सक्ने विचार बोर्डका पूर्व अध्यक्ष राईले राखे ।
त्यसैगरी बोर्ड अन्तर्गतको मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक ज्योतीराज राईले जनजाति चलचित्रको स्तर अभिवृद्धि र बजार विकास एवम् विस्तार गर्नका लागि विभिन्न समुदायका जनजाति चलचित्रकर्मीलाई एकै थलोमा भेला गराई कार्यक्रमको आयोजना गरेको बताए ।
कार्यक्रमका अन्य वक्ताहरूले जनजाति चलचित्र क्षेत्रकाे विकासका लागि सबै जनजाति समुदाय एक भइ सहकार्य गर्नुपर्नेमा जाेड दिएका थिए ।
कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघमा आवद्ध विभिन्न समुदायका चलचित्रकर्मी संस्थाका प्रतिनिधि, विभिन्न जनजाति चलचित्रकर्मी, जनजाति पूर्व सांसद, उच्च पदस्थ जनजाति निजामति कर्मचारीहरुसमेतको उपस्थिती रहेको थियो ।
Categorized in पेजथ्री