ट्रम्पबाट विश्व स्वास्थ्य संगठनसँग सम्वन्ध तोडेको घोषणा
SamacharDesk – विकाश | २०७७ जेठ १७, शनिबार

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमरीकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँग सम्वन्ध तोडेको घोषणा गरेका छन् । ट्रम्पले शुक्रवार व्हाइट हाउसमा सम्पन्न प्रेस कन्फरेन्समा शुक्रवारबाटै डब्लुएचओसँग सम्वन्ध तोडेको घोषणा गरे ।
यस अघि नै डब्लुएचओलाई दिँदै आएको सहयोग कटौती गरिसकेका ट्रम्पले अब उक्त सहयोगको रकम विश्वका नागरिकको स्वास्थ्य क्षेत्रमा प्रयोग गर्ने बताए ।
गत महिनामा ट्रम्पले केहि दिनमै ठोस सुधार नभए अमरीकाले डब्लुएचओलाई दिँदै आएको सहयोग स्थायी रूपमै बन्द गर्ने चेतावनी दिएका थिए ।
डब्लुएओलाई चीनको कठपुतली समेतको आरोप दिँदै ट्रम्पले भने, ‘डब्लुएचओ पूरै चीनको नियन्त्रणमा छ, जबकि चीनले अमरीकाको तुलनामा निकै थोरै सहयोग दिन्छ ।’
डब्लुएचओलाई चीनले वर्षेनी चार करोड डलर सहयोग दिँदै आएकोमा अमेरीकाले वर्षेनी ४५ करोड डलर सहयोग प्रदान गर्दै आएको ट्रम्पले बताए ।
कोरोनाभाइरस संक्रमणलाई शुरुमै नियन्त्रणमा लिन डब्लुएचओ असफल भएको आरोप समेत ट्रम्पले लगाए । शुरुदेखि कोरोनाभाइरस चीनले फैलाएको आरोप दिँदै आएका ट्रम्पले चीनले शुरुआत गरेको महामारीका कारण एक लाख बढि अमेरिकीको ज्यान गएको समेत बताए ।
ट्रम्पले डब्लुएचओलाई लेखेको पत्रमा उल्लेख गरिएको छ, ‘डब्लुएचओ चीन परस्तीबाट मुक्त हुनुपर्दछ ।’
चीनले शुरुमा भाइरस देखिएको बेलामै सूचनाहरु लुकाएको आरोप पनि ट्रम्पको थियो ।
ट्रम्पले सत्तामा आएलगत्तै नै ‘अमरीका फर्स्ट’ को नीति अपनाइरहेका छन् ।
ट्रम्पले सत्तामा आउने वित्तिकै संयुक्त राष्ट्र मानवाधिकार परिषदबाट अमेरीकालाई अलग गरेको थियो भने लगत्तै यूएनको साँस्कृतिक एजेन्सी यूनेस्कोबाट पनि आफुलाई छुट्याएको थियो ।
जलवायु परिवर्तन समझौताबाट पनि छुट्टियो भने ईरानसँग परमाणु सम्झौता पनि तोडिदियो ।
Categorized in अन्तर्राष्ट्रिय