arin enterprises

सम्पूर्ण जनजाति चलचित्रकर्मीहरु एक हुन महासंघको आह्वान

SamacharDesk – बिराज | २०८० चैत्र २६, सोमबार

स्थापनाको पन्ध्र वर्ष पछि आदिवासी जनजाति चलचित्र महासंघले आफ्नो स्थापना दिवस मनाएको हो । आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डमा एक समारोहको आयोजना गर्दै महासंघले आफ्नो स्थापना दिवस मनाएको हो ।

स्थापना दिवस समारोहमा महासंघका संस्थापक साथै महासंघमा आवद्ध विभिन्न आदिवासी जनजाति सम्वद्ध चलचित्रकर्मी संघसंस्थालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष पुर्खाजित राईले संस्थाका जन्मदाताको योगदानको स्मरण र कदर गर्दै स्थापना दिवस मनाइएको बताए ।

‘संस्थामा आवद्ध भएपछि त्यसका जन्मदाताहरुलाई चिन्नु आवश्यक छ । संस्थाको नयाँ पुस्ताले अग्रजहरु चिनुन्, संस्थाको इतिहास थाहा पाओस् भनेर हामी यो स्थापना दिवस मनाउँदैछौं’ अध्यक्ष राईको भनाई हो ।

सो अवसरमा अध्यक्ष राईले महासंघको भवन बनाउने, सहयोग कोष बनाउने लगायतका योजना पनि सुनाए ।

त्यस्तै महासंघका पुर्व अध्यक्ष साथै संस्थापक महासचिव प्रतिमाया पुनले आदिवासी जनजाति चलचित्र क्षेत्र र चलचित्रकर्मीको उत्थान, हक, अधिकार प्राप्तिका लागि महासंघको स्थापना भएको स्मरण गरिन् ।

‘महासंघको १५औं स्थापना दिवस मनाईरहँदा हामीले केही पाइसक्यौं, धेरै पाएका छैनौं । यसको लागि हामी अझैं संघर्षमा छौं । राज्य तहसम्म हाम्रा कुराहरु पु¥याउन सबै एकजुट भएर अघि बढ्न जरुरी छ’ पुनले भनिन् ।

त्यस्तै चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्ध्दन समितिका संयोजक ज्योति राज राईले आदिवासी जनजाति चलचित्रलाई राज्यले अझै पनि हेयको दृष्टिले हेर्ने गरेको गुनासो गर्दै सम्पूर्ण आदिवासी जनजाति समुदायका चलचित्रकर्मीहरु एक भएर संघर्ष गर्न जरुरी रहेको विचार राखे ।

कार्यक्रममा महासंघका संस्थापक र महासंघमा आवद्ध विभिन्न आदिवासी जनजाति समुदायका चलचित्रकर्मी संंस्थाका संस्थापकहरुले आआफ्ना विचार राखेका थिए । 

कार्यक्रममा विभिन्न कलाकारहरुबाट सांस्कृतिक प्रस्तुतिको साथमा आदिवासी जनजाति समुदायका गरगहना लगायत संस्कृतिको जानकारीमूलक प्रस्तुति पनि दिइएको थियो ।

महासंघमा हाल संस्थापक संस्था ६ वटासहित विभिन्न आदिवासी जनजाति समुदायबाट १४ वटा चलचित्रकर्मी संस्थाहरु आवद्ध छन् ।

वि.सं. २०६६ सालमा किरात राई चलचित्रकर्मी संघका दिपेन राईको नेतृत्वमा महासंघको सुरुवात भएको थियो ।

राई पछि मगर चलचित्रकर्मी संघका प्रतिमाया पुनले एक कार्यकाल र सुनुवार कलाकार तथा चलचित्रकर्मी संघका अमृत सुनुवारले दुई कार्यकाल महासंघको नेतृत्व गरिसकेका छन् ।

हाल किरात राई चलचित्रकर्मी संघकै पुर्खाजित राई महासंघका अध्यक्ष छन् ।

Categorized in पेजथ्री