मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषामा सम्पन्न
SamacharDesk – बिराज | २०८० चैत्र २८, बुधबार

एक दिवसीय मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा आज बुधबार सम्पन्न भएको छ ।
नेपाल सरकार गृह मन्त्रालय र मधेस प्रदेश गृह, संचार तथा कानुन मन्त्रालयबाट संयुक्त रूपमा गोष्ठीको आयोजना गरिएको हो ।
गोष्ठीलाई सम्वोधन गर्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपलब्ध साधनस्रोतमा टेकेर गर्न सकिने काम गरेका छौं वा छैनौं मनन गरी संगठनको मर्यादा कायम राखेर काम गर्न निर्देशन दिए ।
गृहमन्त्री लामिछानेले सीमा क्षेत्रमा अनुगमन र निगरानी लगायतका काम गरी तस्करी नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले गोष्ठीले समग्र प्रदेशको शान्ति सुरक्षा सुदृढ हुने विश्वास व्यक्त गरे ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गोष्ठीबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गरी समग्र प्रदेशमा शान्ति सुरक्षा तथा सुशासन कायम गर्न थप सक्रियताका साथ काम गर्न प्रदेशस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपरथी प्रेम ध्वज अधिकारी, गृह मन्त्रालयका सह–सचिव राजेन्द्र देव पाण्डे लगायतले आआफ्नो विचार राखेका थिए ।
त्यस्तै मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखी, अर्थ सचिव कृष्णहरि पुस्कर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत लगायतले पनि मन्तव्य राखेका थिए ।
गोष्ठीमा मधेस प्रदेश अन्तर्गत आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेश सुरक्षा निकायका प्रमुखहरू र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
Categorized in राष्ट्रिय