नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सुरु
SamacharDesk | २०८१ बैशाख २, आइतबार

आजबाट नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान शुरु भएको छ ।
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ आजबाट अभियान शुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्ती दाहालले शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार सरकारसामु रहेको बताउनु भएको छ ।
अभियानको पहिलो हप्ता विद्यार्थी भर्ना र दोस्रो हप्तादेखि वैशाख मसान्तसम्म नियमित पठनपाठन, घरदैलो लगायतका कार्यक्रम हुनेछन् । अभियानमा नियमितबाहेकका ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने सरकारको अभियान रहेको छ ।
विद्यालय जाने उमेर समूहका ५ वर्षका ५ लाख र विद्यालय छोडेका २ लाख १३ हजार विद्यार्थीलाई विद्यालयमा ल्याउन र टिकाइ राख्न अभियान केन्द्रित हुनेछ ।
अभियानको पहिलो दिन आज देशभरका पालिकाका शिक्षा शाखा प्रमुख, एकाइ प्रमुख, नगरपालिका सङ्घ, गाउँपालिका महासङ्घ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा मातहतका निकायबीच भर्चुअल अन्तक्रिया हुँदैछ ।
मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना अभियानका लागि सहजीकरण कार्ययोजना तयार पारेको छ ।
जनक शिक्षा सामग्री केन्द्रले गत चैत १५ गतेदेखि आवश्यक पाठ्यपुस्तक वितरण शुरु भएको र देशका धेरै ठाउँमा पुर्याइसकेको छ ।
Categorized in राष्ट्रिय