आजै दुई कोरोना संक्रमितको मृत्यु पुष्टि
SamacharDesk – बिराज | २०७७ जेठ १८, आइतबार

नेपालमा कोरोना संक्रमित व्यक्तिको मृत्यु संख्या ८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले थप दुई जना संक्रमितको मृत्यु पुष्टि गरेको हो ।
हिजो विहान मृत्यु हुने दैलेखका युवकको स्वाव परिक्षणको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
दैलेख दुल्लु नगरपालिका वडा ७ पटाङ्गिनीस्थित नेपाल विद्युत प्राधीकरणको क्वारेन्टाइनमा बसिरहेका एक युवकको हिजो विहान मृत्यु भएको थियो ।
दुल्लु नगरपालिका ११ का ३५ वर्षीय पुरुषको स्वाब परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
उनको स्वाब परिक्षणको लागि चार दिन अघि नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको थियो ।
उनको स्वाब परिक्षणको रिपोर्ट भने हिजो साँझमा मात्र आएको हो ।
त्यसैगरी बाजुरा जिल्लाको स्थानीय क्वारेन्टाइनमा मृत्यु हुने २ वर्षीय बालिकाको स्वाब परिक्षणको रिपोर्ट पनि पोजेटिभ नै आएको छ ।
८ दिन अघि आमाबुबासँगै भारतबाट नेपाल आएकी बालिकालाई ज्वरो, श्वासप्रश्वासमा समस्या र झाडा पखाला जस्ता समस्या देखिएपछि गत जेठ १५ गते बाजुरा अस्पताल भर्ना गरिएको थियो ।
हिजो राती २ः३० बजे उनको मृत्यु भयो ।
कोरोना परिक्षणका लागि १६ गते नै उनको स्वाब संकलन गरी सेती प्रादेशिक अस्पताल पठाइएको थियो । तर उनको रिपोर्ट पनि आज मात्र आएको हो ।
योसँगै नेपालमा कोरोनाबाट संक्रमितको मृत्यु संख्या ८ पुगेको छ । मृत्यु हुने ८ मध्ये ७ जनाको संक्रमण पुष्टि मृत्यु पछि मात्रै भएको थियो ।
Categorized in समाज