arin enterprises

महिला जनप्रतिनिधि र कर्मचारीको क्यान्सर जाँच शिविर

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०८१ बैशाख ४, मंगलबार

काठमाडौँ महानगरपालिकाले आज मंगलबारदेखि महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको साथै प्रजनन अस्वस्थ्यताको परीक्षण सुरु गरेको छ ।

कार्यक्रमको पहिलो दिन राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरुको स्वास्थ्य जाँच भएको छ ।

कार्यक्रम थालनी गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सुरुकै समयमा क्यान्सर पहिचान गर्न सके रोकथामको सम्भावना भएकोले महानगरपालिकाले आयोजना गर्ने वडास्तरीय निःशुल्क शिविरमा आएर जाँच गराउन आह्वान गरिन् ।

‘अहिलेको सानो प्रयासले उपचारमा लाग्ने खर्च र पारिवारिक तनाव घटाउन सक्छौँ । यसकारण प्रजनन उमेरका महिलाहरुलाई आफ्नो वडामा हुने शिविरमा गएर जाँच गराउन दोहो¥याएर अनुरोध गर्दछु’ उपप्रमुख डंगोलले भनिन् ।

स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनका अनुसार शिविरमा स्तन क्यान्सरको जाँचका क्रममा पहिले क्लिनिकल (चिकित्सकबाट) परीक्षण र पछि भिडियो एक्सरे हुन्छ । यी दुई परीक्षणबाट क्यान्सरका चिह्न देखियो भने मेमोग्राम गराइन्छ ।

यस्तै पाठेघरको मुखको क्यान्सर जाँचका क्रममा नमूना संकलन गरिन्छ । यसको प्रयोगशाला परीक्षणपछि आउने स्वास्थ्य प्रतिवेदन (रिपोर्ट) सम्बन्धित व्यक्तिको मोवाइल नम्बरमा पठाइन्छ ।

महानगरपालिकाकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुनिता लम्सालका अनुसार ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ ।

प्रजनन उमेर (३० बर्षदेखि ६० बर्ष) समूहका महिलाले हरेक ५ बर्षमा एकपटक यसको परीक्षण गराउनु पर्ने डा. लम्सालको सुझाव छ ।

पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा हरेक दिन ४ जना महिलाले मृत्युवरण गरिरहेको तथ्याङ्क डा. लम्सालले सुनाइन् ।

उनका अनुसार ३० बर्ष उमेरमाथिका सबै महिलाहरुलाई क्यान्सर हुन सक्छ ।

एक जनाभन्दा धेरै पुरुषसँग यौन सम्पर्क भएका, १६ बर्षभन्दा कम उमेरमा यौन सम्पर्क भएका, महिनावारी भएको पहिलो वर्षभित्रै यौन सम्पर्क भएका, एचआइभी जस्ता यौनजन्य संक्रमण भएका, ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) देखिएका, धुमपान गर्ने, प्रतिरक्षा प्रणाली कमजोर भएका, धेरैपटक गर्भवती भएका, कहिल्यै जाँच नगराएका महिलाहरुमा क्यान्सरको जोखिम धेरै हुन्छ ।

शिविर कहाँ कहाँ हुँदैछः

भोलि बुधबारदेखि वडास्तरीय निःशुल्क क्यान्सर परीक्षण शिविर सुरु हुनेछ ।

यस क्रममा वडा नं. ३१ भीमसेनगोलामा बुधबार र विहीबार गरी २ दिन शिविर चल्नेछ । ७ गते शुक्रबार, ९ गते आइतबार र १० गते सोमबार इनबहालमा वडा नं. २५ र २७ को संयुक्त शिविर हुनेछ ।

११ गते मंगलबार र १२ गते बुधबार वडा नं. ३ महाराजगञ्जमा हुनेछ । १४ गते शुक्रबार वडा नं. २६ लैनचौरमा, १६ गते आइतबार वडा नं. २० भीमसेनस्थानमा, १७ गते सोमबार, वडा नं. २१ यंगालमा, १८ गते मंगलबार वडा नं. २३ ओमवहालमा शिविर हुनेछ ।

यसैगरी वैशाख २० गते बिहीबार र २१ गते शुक्रबार वडा नं. १५ मा, २४ गते सोमबार वडा नं. २ लाजिम्पाटमा, २५ गते मंगलबार वडा नं. २४ मखनमा, २६ गते बुधबार वडा नं. २२ टेवहालमा शिविर हुनेछ ।

२७ गते बिहीबार वडा नं. १८ नरदेवीमा, २८ गते शुक्रबार वडा नं. १९ कंकेश्वरीमा, ३० गते आइतबार र ३१ गते सोमबार वडा नं. ३२ पाल्पाकोट (छाप्रे) कोटेश्वरमा शिविर हुने तालिका छ ।

Categorized in स्थानीय