arin enterprises

इलाम र बझाङमा मतदान जारी

SamacharDesk – समाचारडेस्क डिस्ट्रिक्ट रिपोर्टर | २०८१ बैशाख १५, शनिबार

अहिले इलाम र बझाङमा उपनिर्वाचनको क्रममा मतदान जारी छ ।

इलाम–२ मा प्रतिनिधिसभा सदस्यका लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदाताले साँझ ५ बजेसम्म आफ्नो मतदान गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।

इलाममा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले महेन्द्र रत्न बहुमुखी क्याम्पसको ‘क’ केन्द्रबाट मतदान गरेका छन् । त्यस्तै एमाले उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट मतदान गरे ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले माङसेबुङ–२ दहगाउँस्थित जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुम गाउँपालिका–३ स्थित सिंहदेबी मा.बि. शुक्रबारे (क) मतदान केन्द्रबाट मतदान गरे ।

आयोगका अनुसार इलाम–२ मा एक लाख १६ हजार ८८९ मतदाता छन् भने ७९ मतदानस्थलमा १४९ मतदान केन्द्र रहेको छ ।

एमाले सांसद सुवास नेम्वाङको निधन पछि उपनिर्वाचन हुन लागेको इलाम–२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

बझाङ –१ क मा पनि प्रदेश सभा सदस्यका लागि मतदान जारी छ । प्रदेश सभा निर्वाचन क्षेत्र–१ (क) का ७४ वटा मतदानस्थलको ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भईरहेको छ ।

यताको उपनिर्वाचनमा ६१ हजार ७४८ मतदाता छन् ।

बझाङ १ ‘क’ मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन पछि भइरहेको उपनिर्वाचनको मैदानमा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Categorized in राजनीति