arin enterprises

तेस्रो लगानी सम्मेलन : चीनले भिसा शुल्क नलिने

SamacharDesk | २०८१ बैशाख १७, सोमबार

काठमाडौंमा आइतबारदेखि दुईदिने तेस्रो लगानी सम्मेलन शुरु भएको छ ।

विदेशी तथा स्वदेशी लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलनको आज समापन हुँदैछ । सम्मेलनमा चीन जाने नेपालीहरुका लागि भिसा शुल्क नलाग्ने निर्णय भएको छ ।

आगामी मे १ देखि चीन भ्रमणमा जाने नेपालीहरुलाई भिसा शुल्क नलिने निर्णय भएको चिनियाँ अधिकारीहरुले बताएका हुन् । लगानी सम्मेलनको उद्घाटन कार्यक्रममा सहभागी चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग नियोगका अध्यक्ष लु चाउहुईले यस्तो जानकारी दिनुभएको हो ।

लु चाउहुईले नेपालको प्रचुर विकास सम्भावनालाई मान्यता दिएको र त्यसमा साझेदार बन्न इच्छुक रहेको पनि बताउनुभयो । नियमित प्रक्रियाबाट भिसा लिने नेपालीहरुले अब भिसा शुल्क तिर्नुपर्ने छैन । तर भिसाका लागि सेवा शुल्क भने लाग्नेछ भने फास्टट्रयाकबाट भिसा लिन चाहनेहरुले पनि भिसा शुल्क तिर्नुपर्नेछ ।

हिजोबाट शुरु भएको सम्मेनलमा नेपाली उद्योगी व्यवसायीहरुले सरकारले नीतिगत सुधार गरी नीतिगत स्थिरता कायम गरे लगानीको गन्तव्य बन्नसक्ने अवस्था देखिएको बताए ।

व्यवसायीहरुले मुलुकमा लगानी भित्र्याउनको लागि ८ वटा कानून संशोधन गरेर मात्रै नपुग्ने भन्दै अझै अन्य कानूनहरु परिमार्जन गर्न जरुरी रहेको जनाएका छन् ।

सो अवसरमा अर्थमन्त्री वर्षमान पुनले कानुनी सुधारसंगै नेपाल अन्तर्राष्ट्रिय लगानीको उत्कृष्ट गन्तव्य बनेको बताउनुभएको छ । तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

लगानी बोर्डका उपाध्यक्षसमेत रहनुभएका मन्त्री पुनले नेपाललाई गन्तव्यको रूपमा प्रस्तुत गर्नु सम्मेलनको प्रमुख उद्देश्य रहेको बताउनुभयो ।

उहाँले सम्मेलनमार्फत नेपालले विदेशी तथा स्वदेशी लगानी प्रवद्र्धन गर्न नियामक क्षेत्रमा हालै गरिएका सुधारहरुबारे जानकारी गराउनु तथा लगानीका लागि तयार भएका परियोजनाहरू सहित विभिन्न क्षेत्रका आयोजनाहरूको विस्तृत प्रदर्शनी गर्नु पनि सम्मेलनको उद्देश्य रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि नेपालमा अवसर नै अवसर रहेको भन्दै लगानी आग्रह गर्नुभयो । उहाँले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधि लगायतका क्षेत्रहरुमा लगानीको सम्भावना रहेको बताउनु भयो ।

Categorized in बिजनेस