arin enterprises

काठमाडौं महानगरपालिकाको रोजगार मेला भोलिदेखि

SamacharDesk | २०८१ बैशाख १८, मंगलबार

काठमाडौं महानगरपालिकाले भोलि वैशाख १९ गतेदेखि ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’  अन्तर्गत गौरव योजनाको एक महिने सीप मेला आयोजना गर्दैछ ।

सो गौरवको आयोजनाबाट महानगरले वार्षिक रुपमा १५ हजारलाई तालिम दिई पाँच हजारलाई रोजगार दिने उद्देश्यसहित टुँडिखेलमा वृहत शीप मेलाको आयोजना गर्न लागिएको जनाएको छ ।

आयोजना अन्तर्गत विभिन्न तालिमहरु संचालनमा रहेका छन् भने कुनै तालिम सुरु हुने तरखरमा रहेको छ । २०८१ सालमा दुई हजार ८१ जनालाई खुला पहुँचमा एक हप्तादेखि एक महिनासम्मको तालिम सञ्चालन हुने जनाएको छ ।

मंगलवार पत्रकार सम्मेलन गरी उपमेयर सुनिता डंगोलले सो मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोडने उद्देश्य रहेको बताउनु भयो । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोडनका लागि सो मेलाको अवधारणा अघि सारिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

उपमेयर डंगोलले भन्नुभयो, ‘सिप मेला कार्यक्रम २०८१ को शुभारम्भसँगै हामीले कम्तिमा २०८१ जनालाई सीप मेलाको कार्यक्रममार्फत रोजगारीसँग जोड्ने हामीले उद्देश्य लिएका छौं । त्यो उद्देश्य स्वरुप सीप मेला भने भोली शुभारम्भ हुँदैछ ।

र त्यसको साथसाथै हामीले शिक्षा बढेका कुराहरुलाई सीपसँग जोड्नुपर्छ । र सीपलाई भने श्रमसँग जोड्नुपर्छ । र श्रमलाई बजारसँग जोड्नुपर्छ । यसरी जोडदै जानुपर्छ भनेर सीप मेलाको अवधारण अघि सारेका छौं । र त्यसबाट भने हामीले तीन वटा मुख्य कामलाई प्राथमिकतामा राखेका छौं ।’

संचालन हुने तालिमहरुमा अटोमोबाइल क्षेत्रका उपक्षेत्रहरूमा अटो इलेक्ट्रिक, अटो डेन्टपेन्ट, अटो एयर कन्डिसन, इलेक्ट्रिक बाइक(स्कुटर र इलेक्ट्रिक कार रहेका छन् ।

भौतिक निर्माण क्षेत्रभित्रका उपक्षेत्रभित्र मेसन, टायल तथा मार्बल फिटर, इलेक्ट्रीसीयन, वाटर प्युरिफिकेशन टेक्निशियन, सोलार फिटिंग टेक्निशियन र प्लम्बिङ छन् ।

हस्पिटालिटी एण्ड म्यानेजमेन्ट क्षेत्रभित्रका उपक्षेत्रहरू कफी वारिस्ता, फास्ट फुड कुक, बेकर, बार टेण्डर, र वेटर छन् । आइटी क्षेत्र अन्तर्गत डिजिटल मार्केटिङ, ग्राफिक्स डिजाइनिङ्ग, प्रिन्टर रिपेयरिङ्ग, कम्प्युटर हार्डवेयर तथा नेटवर्क र सिसिटिभी रेपियरिङ्ग छन् ।

यसैगरी, मोबाइल रिपेरिङ्ग, फ्रिज तथा एसी रिपेरिङ्ग, वेल्डिङ्ग, आर्ट एण्ड स्कल्पचर, टेलरिङ्ग अन्तर्गत गार्मेन्ट फेब्रिकेटर, फेसन डिजाइनिङ्ग, ब्यूटीसियन अन्तर्गत नेल आर्ट, मेकअप आर्ट, आईल्यासिस आर्ट, हेयर कटिङ तथा स्टाइल, सैलुन लगायतका तालिम सञ्चालन हुँदैछन् ।

इन्टेरियर डिजाइनिङ अन्तर्गत प्लटर लेजर कटिङ, साइन मेकिङ, स्क्रिन प्रिन्टिङ, ग्रिन सोलुसन क्षेत्र अन्तर्गत रिसाइकलिङ फ्लेक्स तथा स्कुल ब्याग मेकिङ्ग, क्यानभास ब्याग मेकिङ्ग, प्लास्टिक रिसाइकलिङ छन् भने ज्योतिष विद्या र सेनिटरी प्याड मेकिङ लगायतका तालिम समेत सञ्चालन हुने जनाइएको छ।

Categorized in स्थानीय