arin enterprises

गुल्मी रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु हुँदै

SamacharDesk – बिराज | २०८१ बैशाख १८, मंगलबार

गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं जैविक विविधताबारे प्रचार प्रसार गर्दै, रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु गर्ने भएको छ ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर नगरपालिकाले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा काठमाडौंमा “जाउँ हिँड रेसुङ्गा” विशेष प्रवर्ध्दनात्मक कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

कार्यक्रमको पूर्व सन्ध्यामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख खिलध्वज पन्थीले गुल्मी रेसुङ्गामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने अभियान स्वरुप कार्यक्रमको आयोजना गर्न लागेको बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा यही वैशाख २० गते काठमाण्डांैबाट अभियान उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी नगर प्रमुख पन्थीले दिए ।

सो अवसरमा बोल्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भौतिक पूर्वाधारको विकाससंगै रेसुङ्गाको प्रवर्ध्दनको लागि प्याकेज निर्माण गर्न आग्रह गरे ।

बोर्डका अर्का निर्देशक लक्ष्मण गौतमले रेसुङ्गा तपोभूमि अध्यात्म र संस्कृतिले जति दिव्य छ त्यति प्राकृतिक सम्पदाले पनि भव्य रहेको उल्लेख गरे ।

कार्यक्रममा डा. नारायाचार्य तिसिमल्सेना (देवबाबा) ले गुल्मीको पर्यटन प्रर्वद्धनका लागि रुरु क्षेत्रमा रहेको शालिग्रामको संरक्षणको लागि ऐन बनाउनु पर्ने बताए ।

रेसुङ्गा भौगोलिक, जैविक र वानस्पतिक विविधताले भरिएको क्षेत्र हो । यो क्षेत्र क्षेत्रमा वन क्षेत्र, आश्रम, धर्मक्षेत्र, मठमन्दिर, पँधेरा, कुण्ड, पोखरी, जलस्रोत, पाटीपौवा, यज्ञशाला, धर्मशाला एवं भग्नावशेषहरू रहेका छन् ।

यस क्षेत्रमा दुर्लभ चरा, पुतली, सरिसृप एवं स्तनधारी जीवहरू पाइने हुनाले जैविक विविधताले पनि यो क्षेत्र अत्यन्तै महत्वपूर्ण रहेको छ ।

यस तपोभूमिमा अनेक ऋषिमुनि र साधुसन्तहरूले तपस्या गर्दै आएको र त्रेता युगमै महर्षि ऋष्यशृङ्ले यहाँ आई तपस्या गरेको र ऋष्यशृङ् महषिले अयोध्याका राजा दशरथको पुत्रेष्टि यज्ञ गराएका थिए ।

जुन यज्ञका कारण राजा दशरथलाई राम, लक्ष्मण, भरत र शत्रुघ्न जस्ता पुत्ररत्नहरू प्राप्त भएको भनी वाल्मीकि रामायणको बालकाण्डको ९–१५ सर्ग सम्ममा विस्तृत वणर्न गरिएको पाइन्छ ।

हवाई तथा सडक यातायातका विभिन्न विकल्पहरु प्रयोग गरेर रेसुङ्गा पुग्न सकिन्छ ।

Categorized in स्थानीय