हिमालयन इन्टरनेशनल अवार्डमा ज्ञानु राणा र विजयरत्न सम्मानित
SamacharDesk – समाचारडेस्क इन्टरटेनमेन्ट रिपोर्टर | २०८१ बैशाख २५, मंगलबार

चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०८० मा वरिष्ठ गायिका ज्ञानु राणालाई ’दीर्घ साधना सम्मान’ प्रदान गरिएको छ ।
मंगलबार काठमाडौंमा सम्पन्न एक समारोहमा रक्षामन्त्री हरि प्रसाद उप्रेतीले वरिष्ठ गायिका राणालाई दीर्घ साधना सम्मानबाट सम्मानित गरेका थिए ।
सोही समारोहमा वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधरलाई पत्रकारिता रजत सम्मान प्रदान गरिएको थियो । त्यसैगरी पत्रकार शान्तिप्रियलाई विशेष पत्रकारिता सम्मान र विनोद देवकोटालाई पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो ।
चौथो संस्करणको अवार्डमा गीत संगीत विशेष सम्मानबाट सिक्किमका जीवन शर्मा र चलचित्र विशेष सम्मानबाट सिक्किमका अभिनेत्री रुश्मा राई लगायत समाजका विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई समेत सम्मानित गरिएको थियो ।
यसअघि हिमालयन अन्तर्राष्ट्रिय अवार्डमा दीर्घ साधना सम्मान वरिष्ठ संगीतकार राजु सिंह, गुरुदेव कामद र वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाहलाई प्रदान गरिएको थियो ।
अवार्ड समारोहमा २९ विधाको प्रतिस्पर्धामा उत्कृष्ट ठहरिएका प्रतिभाहरु लगायत अन्य प्रोत्साहन पुरस्कारहरुबाट सांगितिक प्रतिभाहरुलाई पनि अवार्ड प्रदान गरिएको थियो ।
Categorized in पेजथ्री