arin enterprises

मदनदास श्रेष्ठसँगै लोहनी, र तुलाधरलाई ‘वानीरा पुरस्कार’

SamacharDesk – बिजयरत्न | २०८१ बैशाख ३०, आइतबार

२०८० सालको लागि ‘वानीरा प्रज्ञा पुरस्कार प्रा. पुष्कर लोहनीलाई प्रदान गरिएको छ । वानीरा फाउन्डेसनले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार प्रदान गरेको हो ।

फाउन्डेसनले प्रा. लोहनीलाई सात दशकदेखि सिर्जनामा समर्पित रही विशेषतः कविता, कथा, उपन्यास र समालोचनाको संवृद्धिमा उल्लेख्य योगदान पुर्‍याएबापत उक्त पुरस्कार प्रदान गरेको हो ।

समारोहमा वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर शङ्कर गिरिले लोहनीलाई उक्त पुरस्कार प्रदान गरे ।

साथै नेपाली रङ्गमञ्च र चलचित्र कलामा विगत ६ दशकदेखि निरन्तर समर्पित रही विशिष्ट योगदान गरेबापत मदनदास श्रेष्ठलाई ‘वानीरा शङ्कर पुरस्कार’ प्रदान गरिएको थियो ।

डा.वानीरा गिरीको नामबाट स्थापित यी दुवै पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ ।

सोही समारोहमा कथा र कविताको सिर्जनामा समर्पित रही नेपाली साहित्यको संवर्ध्दनमा उल्लेख्य योगदान दिएबापत अनिता तुलाधरलाई पचास हजार रुपैयाँ राशिसहितको ‘वानीरा पुरस्कार’ बाट पुरस्कृत गरिएको थियो ।

डा.वानीरा गिरीको २०७८ साल जेठ ९ गते कोरोना संक्रमणका कारण निधन भएको थियो ।

कार्यक्रममा पुरस्कृत तीन व्यक्तित्वसँगै इन्दिरा प्रसाई, वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक इन्जिनियर गिरि, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईले आआफ्ना मन्तव्य राखेका थिए । 

Categorized in पेजथ्री