शताब्दिपुरूष जोशीको जन्मजयन्तीमा ६ वटा पुस्तक विमोचन
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ बैशाख ३०, आइतबार

वागमति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलैन्द्रमान बज्राचार्यले राजनीतिमा आम नागरिकले चासो लिनुपर्नेमा जोड दिएका छन् ।
आज आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बज्राचार्यले राजनीति भनेकै राज्यको नीति भएकोले आम नागरिकले यसमा चासो लिनुका साथै राज्यको नीतिको बारे जानकार भइराख्नुपर्ने बताए ।
शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १०५औं जन्मजयन्तीको अवसरमा लोक साहित्य परिषदले ललितपुरमा साताभरी विभिन्न कार्यक्रमको आयोजना गरेको थियो ।
सो जन्मजयन्ती कार्यक्रमको आज ललितपुरमा जोशीकै निवास लोक साहित्य परिषद भवन परिसरमा एक कार्यक्रमको आयोजना गरी समापन गरिएको थियो ।
समापन समारोहमा मन्त्री बज्राचार्यले ६ वटा पुस्तकको विमोचन गरे ।
समारोहमा मल्ल के. सुन्दरको ‘लुमन्तिया किचः’, बिजयरत्न तुलाधरको ‘संकिपाया न्हायकं’, कृष्णप्यारी श्रेष्ठको ‘बोदेया नीलबाराही द्यःगं नकेगु परम्परा’ पुस्तक विमोचन गरिएको थियो ।
साथमा ईश्वरी मैयाँ श्रेष्ठको ‘नेपालभाषाया पद्यया किचः’, धर्मकृष्ण श्रेष्ठको ‘थिमिया स्यस्यः बिनां’ सँगै लोक साहित्य परिषदकै प्रकाशन अणुराज जोशीको ‘महाकाव्य ख्यः व शताब्दि अभिनन्दन’ पुस्तकको विमोचन गरिएको थियो ।
पुस्तक विमोचन पछि बोल्दै मन्त्री बज्राचार्यले राज्यले देशको लोक साहित्य र संस्कृति सँग सम्वन्धित भएर पनि नीति निर्माण गरेको जानकारी दिँदै सोही नीतिकाे आधारमा लोक साहित्य र संस्कृति विकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिवध्दता व्यक्त गरे ।
परिषदका अध्यक्ष राजित बहादुर श्रेष्ठले शताब्दी पुरुष जोशीले अगाडी बढाएको लोक साहित्यको अध्ययन अनुसन्धानको क्षेत्रलाई अझ व्यापक बनाउन परिषद र आफुले पनि सक्दो प्रयाश गरीरहने प्रतिवध्दता व्यक्त गरे ।
सोही कार्यक्रममा नेपाल र चीन दुबै मोहदाबाट सगरमाथाको सफल आरोहण गरी कीर्तिमान बनाएकी महिला आरोही कल्पना महर्जनलाई सगरमाथाको चुचुरोमा शताब्दि पुरुष जोशीको तस्वीर पु¥याएको भन्दै सम्मान गरिएको थियो ।
Categorized in पेजथ्री