दक्षिण एशियाली महिलाहरुको सम्मेलन सुरु
SamacharDesk | २०८१ बैशाख ३१, सोमबार

दक्षिण एसियाली महिलाहरुको सम्मेलन सुरु भएको छ ।
वैशाख ३० देखि जेठ १ गतेसम्म चल्ने दक्षिण एशियाली महिलाहरुको सम्मेलन २०८१ को हिजो सम्माननीय उप(राष्ट्रपति रामसहाय प्रसाद यादवले एक कार्यक्रमकाबीच उदघाटन गर्नुभयो ।
सो अवसरमा उप-राष्ट्रपतिले दक्षिण एसियाका महिलाको पुँजी र बजारमा प्रवेश अति आवश्यक रहेको बताउनुभयो । महिला आरक्षणबाट ३३ प्रतिशत राजनैतिक सहभागिता पछि आर्थिक सशक्तिकरणमा काम गर्नु जरुरी रहेको उहाँले बताउनुभयो ।
उहाँले लैङ्गिक असमानता न्यूनीकरण र आर्थिक सशक्तिकरण बढाउन डिजिटल रुपान्तरणमार्फत महिला सशक्तीकरण आवश्यक रहेकोमा जोड दिनु भयो ।
उहाँले विभिन्न क्षेत्रहरूमा महिला सहभागिता प्रवर्द्धन गर्ने महत्त्वलाई प्रकाश पार्दै दक्षिण एसियाका सामूहिक चुनौतिहरूको लैङ्गिक असमानताको मूल कारणहरू पहिचान गर्न र दक्षिण एसियाली अर्थतन्त्रको सन्दर्भमा व्यापार, उत्पादन, पर्यटन व्यवस्थापन र कृषिमा महिला सहभागिताको महत्व दोहोर्यानु भयो ।
उहाँले कार्यक्रम कार्यान्वयनका लागि SWAN, Asia Foundation, UN Women, रUSAIDजस्ता संस्थाहरूसँग साझेदारीको महत्त्वलाई औंल्याउँदै महिला उद्यमीहरूलाई नेटवर्किङ र जडान गर्ने मञ्चका रूपमा सम्मेलनको प्रशंसा गर्नु भयो ।
बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले संविधानले दिएको अधिकारले महिलाको राजनैतिक प्रतिनिधित्व त भयो तर निजामती सेवा देखि लिएर सेवा क्षेत्रहरुमा महिलाको उपस्थिति निक्कै कम नै रहेको औंल्याउनुभयो ।
“ग्रामीण पर्यटनमा दिगो विकास र महिला सशक्तिकरण”लाई मुख्य विषयवस्तु बनाएर उक्त सम्मेलन गर्न लागिएको आयोजकहरुले बताएका छन् ।
आयोजक संस्थाका अनुसार यस परिवर्तनकारी सम्मेलनले “दक्षिण एशियाभरिका महिलाहरुले आर्थिक सशक्तिकरणका विषयमा झेलेका र भोगीरहेका अप्ठ्यारोको विषयवस्तुलाई लक्षित गरेको र वित्तिय पहुँच, बजारीकरण, डिजिटल प्रविधि र व्यवसायिक विकास रहेको बताउनुभयो ।
साथसाथै लघु, साना र मध्यम स्तरका व्यवसायहरुलाई विषेश जोड दिदै ग्रामीण पर्यटन, कृषि र जलवायु परिवर्तन जस्ता समसामयिक विषयहरुलाई समेट्न खोजेको बताए ।
सम्मेलनले मुख्य उद्देश्य दक्षिण एशियाभित्रका महिला उद्यमीहरु अझ विषेश गरि ग्रामीण पर्यटन व्यवसाय अन्तर्गतका महिलाहरुको आर्थिक सशक्तिकरण, डिजिटल प्रविधिसँग सम्बन्धित सेवा सुविधाहरु, क्षमता विकास, आयश्रोतको बृद्धि, लैङ्गिक समानता र प्रतिस्पर्धात्मक सोचलाई प्रविधि र विश्व बजारसँग समन्वय गर्नको लागि एउटा अवसर प्रदान गर्नु रहेको बताइएको छ ।
Categorized in राष्ट्रिय