बलिउडका चर्चित संगीतकार वाजिद रहेनन्
SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ १९, सोमबार

पछिल्लो समय भारत निरन्तर रुपमै एकपछि अर्को समस्याबाट गुज्रिरहेको छ । कोरोना महामारी, अम्पुन आँधीको प्रकोप फेरी सलहको समस्या । अब आएर भारतीय चलचित्र उद्योग बलिउडमाथि ठुलो वज्रपात भएको छ ।
केही समय अघिमात्रै इरफान खान र ऋषि कपुर जस्ता दिग्गज कलाकार गुमाएको बलिउडले अहिले चर्चित संगीतकार वाजिद खानलाई पनि गुमाएको छ ।
बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । आइतबार राति उनको ४२ वर्षको उमेरमा निधन भएको हो ।
उनको मुम्बइको चेम्बुरस्थित सुराना अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
उनलाई एक साता अगाडि कोरोना संक्रमण पुष्टि भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
विगत लामो समयदेखि किड्नीको समस्याबाट पिडित उनको केही समय अघि मात्रै किड्नी प्रत्यारोपण गरिएको थियो ।
स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि पछिल्लो समय उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो ।
वाजिदले सन् १९९८ मा सलमान अभिनित चलचित्र ‘प्यार किया तो डरना क्या’ बाट बलिउडमा डेब्यु गरेका थिए ।
‘दबंग ३, पार्टनर, पागलपन्ती, सत्यमेव जयते, जुडवा २, सिङ इज किङ, हिरोपन्ती लगायत थुप्रै हिन्दी चलचित्रहरुमा हिट संगीत दिएका छन् । उनले सन् २०११ म ‘फिल्मफेयर अवार्ड’मा उत्कृष्ट संगीतकारको अवार्ड पनि प्राप्त गरेका थिए ।
आफ्ना सहकर्मी साजिदसँग मिलेर विभिन्न चलचित्रमा संगीत दिनुका साथै वाजिदले सलमानका चलचित्रहरुको लागि गीत पनि गाएका छन ।
वाजिदको निधनले समग्र बलिउडलाई स्तब्ध तुल्याएको छ ।
चर्चित गायक सोनु निगम, संगीतकर्मी सलिम मर्चेन्ट, इन्टरटेनमेन्ट जर्नालिस्ट फारिदनु सर्यार, नायिका प्रियंका चोपडा लगायतले वाजिदलाई श्रद्धान्जली पोखेका छन् ।
Categorized in पेजथ्री