arin enterprises

उपत्यकाव्यापी मेयर कप फुटबल प्रतियोगीतामा कामपा विजयी

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०८१ जेठ ७, सोमबार

उपत्यकाव्यापी खुला मेयर कप फुटबल प्रतियोगीतामा काठमाडौँ महानगरपालिका (कामपा) विजयी भएको छ ।

गोदावरी नगरपालिकाले आयोजना गरेको प्रतियोगीताको फाइनल खेलमा चन्द्रागिरी नगरपालिका (चनपा) लाई २–१ गोलअन्तरले पराजित गर्दै कामपा विजयी भएको हो ।

गोदावरी नगरपालिका–१० टाहाखेल वहुउद्देश्यीय रङ्गशालामा भएको खेल जित्दै कामपाले ट्रफिसँगै नगद ५ लाख रुपैयाँ पनि प्राप्त गरेको छ । खेलाडीहरुलाई पदक प्रदान गरिएको थियो ।

खेलमा कामपाका प्रशिक्षक सन्तोष न्यौपानेले उत्कृष्ट प्रशिक्षक, किपर सुदीप गिरीले उत्कृष्ट किपर र एरिक विष्टले उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गर्न सफल भए । चन्द्रागिरि नगरपालिकाका साहिल राना प्रतियोगिताकै उत्कृष्ट डिफेन्डर चुनिएका थिए ।

पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा मैदानमा उत्रेको कामपा टीममा सुदीप गिरी (किपर), असीम गुरुङ्, सरोज तामाङ्, आदिल हामिद, अनिल खड्का, एरिक विष्ट, राज पौडेल, दिपेश श्रेष्ठ, अखिलेश कार्की र राजीव लोप्चन पहिलो १२ खेलाडीका रुपमा खेलेका थिए ।

चन्द्रागिरी नगरपालिका टीम

फाइनल खेलको प्रतिस्पर्धा अवलोकन गर्न महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलसहित पदाधिकारी गोदावरी पुगेका थिए । साथमा चनपाका प्रमुख घनश्याम गिरीले पनि मैदानमै पुगेर उपविजेता बनेको चनपा टीमलाई बधाई दिएका थिए ।

खेलमा आफ्नो टीम विजेता भएपछि कामपा उपप्रमुख डंगोलले महानगरपालिकाको पहिचानमा खेल विधा थपिएको प्रतिक्रिया दिइन् ।

महानगरपालिकाले आफ्नो पहिलो खेलमा वैशाख २० गते बुढानीलकण्ठ नगरपालिकालाई ४—३ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको थियो ।

क्वाटर फाइनलमा गोदावरी वी टीम र सेमिफाइनलमा मध्यपुर थिमि नगरपालिका टीमलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

त्यस्तै चन्द्रागिरी नगरपालिकाले वागमती गाउँपालिका, नागार्जुन नगरपालिका र महालक्ष्मी नागार्जुन नगरपालिकाको टीमलाई पछि पार्दैै फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगितामा काठमाडौँ जिल्लाबाट काठमाडौँ महानगरपालिकासहित ९ वटा स्थानीय तहबाट ९ वटा टीमले भाग लिएका थिए ।

यस्तै ललितपुर जिल्लाका ४ वटा स्थानीय तहबाट ललितपुर महानगरपालिकासहित ५ वटा टीम र भक्तपुर जिल्लाबाट १ स्थानीय तहबाट १ वटा टीमको सहभागिता थियो ।

Categorized in स्पाेर्ट्स