arin enterprises

सडक विभागको गेटमा महानगरको धूलोको थुप्रो

SamacharDesk | २०८१ जेठ १३, आइतबार

वर्षाैंदेखि सडक नबनाएपछि काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा एक ट्रक धुलो खसालेको छ ।

चक्रपथ विस्तारका क्रममा नागरिकले धूलो र कष्ट व्यहोर्नु परेको भन्दै काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं अगाडि धूलो थुपारिदिएको हो ।

महानगरपालिकाका प्रमुख बालेन शाहले भौतिक पूर्वाधारमन्त्री महासेठको निर्देशनमा चक्रपथ विस्तारको काम रोकिएको भन्दै काम सुचारु नगरेसम्म दैनिक एक ट्रक धुलो उपहार पठाइदिने घोषणा गर्नुभएको छ ।

सडक विभागले चक्रपथको कलंकी–महाराजगञ्ज सडक खण्ड निर्माण कार्य अघि नबढ्दा काठमाडौंमा धुलो प्रदुषण बढेको भन्दै महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभाग बाहिर र मीनभवनस्थित डिभिजन सडक कार्यालय काठमाडौं बाहिर थुपारेको हो ।

कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा विगत १५ वर्षदेखि जनताले सास्ती ब्यहोर्नु परिरहेको छ । महानगरले अकारणमा गाली खानु परेको उल्लेख गर्दै मेयर बालनेले यो धूलो जनताले मात्र खाँदा राम्रो नदेखिएको बताउनु भएको छ ।

मेयर बालेनले धूलो खन्याएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै लेख्नु हुन्छ, ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु ।’

उनले लेखेका छन्, ‘काठमाडौंमा हुने आधा भन्दा बढी प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानुपरेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नुपरेको छ, पुग्न अबेला भोग्नुपरेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानुपरेको छ’, उनले लेखेका छन ।

उहाँले चक्रपथ विस्तारको काम अगाडि नबढाएसम्म हरेक दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धूलो खसाल्ने चेतावनी दिनुभएको छ ।

Categorized in स्थानीय