arin enterprises

आज विश्व दूध दिवस

SamacharDesk | २०८१ जेठ १९, शनिबार

आज २४औं विश्व दूध दिवस । ‘दुध तथा दुग्धजन्य पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि सङ्गठनले सन् २००१ जुन १ देखि विश्व दुध दिवस मनाउन सुरु गरेको हो । नेपालमा भने सन् २०११ देखि दिवस मनाउन सुरु गरिएको हो ।

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षा एवम् जीविकोपार्जनमा पु¥याउने योगदानलाई ध्यानमा राखेर दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्ड र सरोकारवाला निकाय नेपाल डेरी एसोसिएशन, केन्दीय दुग्ध सहकारी, दुग्ध विकास संस्थान (डीडीसी), पशु सेवा विभागलगायतले कार्यक्रम गरिरहेको छ ।

विश्वले दुध दिवस मनाइरहेका बेला नेपालका दुध किसानले साढे तीन अर्ब रुपियाँ बक्यौता रकम भुक्तानी नपाएको तथ्यांक सार्वजनिक भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको अध्ययन समितिले तयार पारेको प्रतिवेदन अनुसार दुध किसानलाई तीन अर्ब ४० करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।

२४औं दूध दिवस मनाइरहँदा नेपालका दुग्ध किसानहरुले दूधको उचित मूल्य नपाउँदा पेशा नै संकटमा पर्नसक्ने देखिन्छ । किसानले उत्पादन गरेको दूधले उचित मूल्य नपाउँदा विरोध स्वरुप सयौं लिटर दूध बाटोमै पोखेको तीतो यथार्थ हामीमाझ रहेको छ ।

पशुपालनको निमित्त आवश्यक पर्ने दाना, पिठो साथै पशु विरामी हुँदा पशुको औषधि उपचारका लागि धेरै नै खर्च गर्नु पर्ने हुँदा दूधबाट प्राप्त न्यून मूल्यको कारण किसानहरु मर्कामा परिरहेको बताइन्छ ।

साथै आफूले उत्पादन गरेको दूध विक्री वितरणको लागि उचित बजारको ब्यवस्थापन नहुँदा किसानहरुले आफूले उत्पादन गरेको दूध विचौलियाको हातमा सुम्पन बाध्य भएका छन् जसको कारण किसानहरुले वास्तविक मूल्य प्राप्त गर्नबाट बञ्चित रहेको देखिन्छ ।

Categorized in राष्ट्रिय